न्यादी हाइड्रोपावरको आइपीओ भर्ने म्याद भदौ १५ गतेसम्म

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि आइपीओ निष्कासन खुला गरिरहेको छ । यसमा लगानीकर्ताले भदौ १५ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन् ।
उक्त अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ३० गतेसम्म खुला रहनेछ । कम्पनीले लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयलाई १५ लाख कित्ता र संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई ३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
न्यादीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं ३, ६, ७ र ८ का स्थानीयलाई ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानीयलाई १० लाख कित्ता आइपीओ छुट्याएको छ ।
यता, न्यादीका संस्थापक सेयरधनी संस्थाहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछ । प्रतिकित्ता १०० रुपैयाँ दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था रहेको छ ।
आयोजना प्रभावित स्थानीयले ग्लोबल आइएमई बैंकको लमजुङ जिल्लाभर रहेका शाखा, सिभिल बैंकको भुलभुले शाखा र एनएमबि बैंकको बेशीसहर शाखाबाट आवेदन दिन सक्नेछन् ।
यस्तै, संस्थापक सेयरधनी संस्थाका कर्मचारीले न्यादी हाइड्रोपावरको कार्यालय बुद्धनगर, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यस आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
केयर रेटिङ नेपालले यस कम्पनीलाई ‘केयर रेटिङ डबल बी’ इस्युअर रेटिङ दिएको छ ।
उक्त रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । न्यादीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले आगामी असोज १ गतेदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।
यस आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ११ करोड ७० लाख ५५ हजार रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २० करोड ३९ लाख २५ हजार १६८ रुपैयाँ रहेको छ ।
वि.सं.२०७८ भदौ ११ ०८:०७