प्रभु बैंकको नाफा ८.१० प्रतिशतले बढ्यो
काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । असोज मसान्तसम्म बैंकको नाफा ८.१० प्रतिशतले बढेर ६० करोड ३७ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ५५ करोड ८४ लाख ८३ हजार रहेको थियो ।
बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ३७ लाख ८१ हजार रुपैयाँबाट घटेर ५८ करोड ८६ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८९ करोड ५२ लाख ७६ हजार रुपैयाँबाट घटेर २ अर्ब ३३ करोड ४७ लाख २५ हजार रहेको छ ।
यस्तै सञ्चालन आम्दानी १ अर्ब १७ करोड २० लाख ८५ हजारबाट घटेर १ अर्ब १५ करोड ४५ लाख २७ हजार रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ६ अर्ब ७८ करोड ७७ लाख ३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको निष्क्रिय कर्जा ५.७८ प्रतिशतबाट बढेर १४.८० प्रतिशत पुगेको छ ।
चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ६ लाख ९७ हजार रुपैयाँ सञ्चित छ ।
बैंकले ३ खर्ब ५० अर्ब २ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ११ अर्ब १३ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिसेयर आम्दानी १०.२६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३.६४ पैसा रहेको छ ।
वि.सं.२०८३ कात्तिक १५ ०८:०२




















