अपर सोलु हाइड्रोको आइपीओ आज असार २० गतेबाट बिक्री खुला
काठमाडौं । अपर सोलु हाइड्रोको आज असार २० गते सोमबारबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरिएको छ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।
यस अनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गरेको छ । यो मध्ये ५ प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा असार २३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
यसमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् ।
रेटिङ एजेन्सी इक्रा नेपालले अपर सोलु हाइड्राको आइपीओलाई मध्यम जोखिम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ ।
वि.सं.२०७९ असार २० ०७:४०


















