back
stc
prabhu insurance

पश्चिम सेती र सेती नदीको विद्युत खरिद सहमति

काठमाडौं । सुदूरपश्चिममा पहिचान भएका रणनीतिक महत्वका दुई जलविद्युत आयोजनाबाट नदीको उत्पादन हुने विद्युत भारत सरकारको स्वामित्वको पावर ट्रेड कर्पोरेशन लिमिटेड ९पीटीसी० ले खरिद गर्ने भएको छ ।

७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ बाट उत्पादन हुने विद्युत उक्त भारतीय कम्पनीले खरिद गर्ने सहमति भएको छ ।

यसैक्रममा भारतीय कम्पनी एनएचपिसी लिमिटेडले यी दुई आयोजनाबाट उत्पादन हुने बिजुली बिक्रि गर्नका लागि पीटीसीसँग गत भदौ १४ गते विद्युत खरिद बिक्री सम्झौता गरेको छ ।

नेपाल सरकारले एनएचपिसी लिमिटेडलाई यी दुई जलविद्युत बनाउने निर्णय गरिसकेको छ । लगानी बोर्डका अध्यक्ष समेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ५२औं बैठकले पश्चिम सेती र सेती नदी ६ संयुक्त जलविद्युत परियोजनाको अध्ययन गर्न अनुमति दिने निर्णय भएको थियो ।

गत भदौ २ गते आयोजनाको अध्ययनका लागि अनुमतिपत्र दिने र विकास गर्ने सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

समझदारी अनुसार एनएचपिसीले आगामी दुई वर्षभित्र दुबै आयोजनाको आर्थिक, वित्तीय, प्राविधिक, सामाजिक एंव वातावरणीय, ऊर्जा बजारको सुनिश्चितता, प्रसारण लाइन निर्माण लगायतका विषय अध्ययनको विस्तृत प्रतिवेदन बोर्डमा पेश गर्नुपर्नेछ ।

प्रारम्भिक अध्ययन अनुसार पश्चिम सेतीबाट वार्षिक ३ अर्ब ३० करोड युनिट र सेती नदी–६ बाट १ अर्ब ४० करोड युनिट बिजुली उत्पादन हुने देखिएको छ ।

पश्चिम सेतीको विद्युतगृहबाट ५० किलोमिटर तल्लो तटीय क्षेत्रमा सेती नदी आयोजना निर्माण हुनेछ । यी आयोजनाबाट उत्पादन हुने बिजुली न्यू–अत्तरिया सबस्टेसनमा जोड्ने योजना रहेको बताइएको छ ।