back
stc
prabhu insurance

नेपालमा अधिक हाइड्रोजन फ्युल उत्पादन गर्न सकिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा हाइड्रोजन फ्युल सेल उत्पादनको प्रचुर सम्भावना रहेको बताएका छन् ।

उनले नेपालले नै हाइड्रोजन फ्युल उत्पादनमा नेतृत्व गर्न सक्ने पनि बताउदै हाइड्रोजन फ्युल उत्पादनको लागि आवश्यक बिजुली र पानी नेपालमा प्रशस्त उपलब्ध रहेको कारण यसको सम्भावना रहेको बताएका छन।

‘नेपालमा हाइड्रोजनको उत्पादन सम्भावना मात्रै होइन । विश्वमा नै नेतृत्व गर्न सक्ने क्षमता छ । विश्वमै नयाँ इनोभेसनमा हाइड्रोजन फ्युलको सम्भावना धेरै छ । अहिले यातायातका साधनदेखि ठूला प्लेनसमेत हाइड्रोजन फ्यूलबाट चल्ने बन्न थालेका छन् ।

त्यसैले नेपाली विद्युत कहाँ विक्री गर्ने भनेर सोचिरहनु पर्ने अवस्था छैन’, राजधानीमा आयोजित एक कार्यक्रममा घिसिङले भनेका छन ।

घिसिङका अनुसार हाइड्रोजन फ्युल उत्पादन गर्ने क्रममा अक्सिजन, एमोनियाको पनि उत्पादन हुने हुँदा त्यसको फाइदा नेपालले उठाउन सक्छ । यी सबै कामको लागि भने विद्युतमा लगानी थप्दै जानुपर्छ ।

‘लगानी बढाउनु पर्ने अवस्था छ । तर, सरकारले आवश्यक रकम दिन सकेको छैन । यसका बाबजूद ५० अर्ब यो वर्ष लगानी गर्न विद्युत् प्राधिकरण तयार छ ।

अहिले हुने लगानी बिजुली उत्पादन, प्रशारण लाइन र विद्युतीकरणमा खर्च गर्ने छौं,’ प्रबन्ध निर्देशक घिसिङले भनेका छन। अफ्रिकी देशले सोलारबाट उत्पादन भएको विद्युतको प्रयोग गरेर हाइड्रोजन फ्युल उत्पादनमा लागेको बताउँदै घिसिंङले भने, ूहामी पनि यसको अध्ययन र अनुसन्धान गरिरहेका छौंू।

यसैबीच घिसिङले अर्को वर्षको बर्षादमा करिब एक हजार मेगावाट विद्युत भारत निर्यात गर्ने लक्ष्य रहेको बताएका छन् ।

उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा सोचे अनुरूप विद्युत उत्पादन भइरहेकोले उक्त लक्ष्य निर्धारण गरिएको बताएका छन् ।

आर्थिक वर्ष २०७९/८० भित्र उक्त क्षमता बराबरको विद्युत भारत निर्यात गर्न प्रक्रिया अगाडि बढाइएको घिसिङले बताएका छन ।

उनले भने– ‘भारतीय बजारमा निर्यातको बाटो खुलेकोले थप ६०० मेगावाट विद्युत निर्यातका लागि प्रस्ताव गरिएको छ,’ देशभित्र खपत गरी अतिरिक्त परिमाण प्रतिस्पर्धाबाट बिक्री गर्न अनुमतिका लागि प्रस्ताव गरिएको छ ।’

प्राधिकरणले गरेको कुनै पनि प्रस्ताव अस्वीकृत नभएको उनको भनाइ थियो । ढल्केबर–मुजफ्फरपुर ४०० केभी बाहेक नेपाल र भारतको बिहार राज्यबीच विद्युत आदान–प्रदान गर्न निर्माण गरिएको १३२ केभी प्रसारण लाइनको पूर्ण सदुपयोग हुने गरी विद्युत निर्यातको तयारी समेत भइरहेको उनले बताएका छन । थप विद्युत निर्यातका लागि प्रसारण लाइनको समस्या नरहेको घिसिङको भनाइ थियो ।

भारतमा विद्युत बिक्री गर्न ४५६ मेगावाटको माथिल्लो तामाकोसी सहित ४२ मेगावाटको मिस्त्री खोला, २४।२ मेगावाटको लिखु खोला–ए, २३.५ मेगावाटको सोलुखोला, २२.१ मेगावाटको चिलिमे लगायत आयोजना प्रस्ताव गरिएको छ ।

गत वर्ष सुरुमा दुई आयोजनाको विद्युतगृहबाट ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिकरूपमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडमा बिक्री गरिएको थियो ।

पुनः गत जेठबाट ३६४ मेगावाट विद्युत निर्यात भइरहेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को साउनमा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँ बराबरको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत निर्यात गरेको थियो । गत अघिल्लो आर्थिक वर्षमा यस्तो बिक्री ३ अर्ब ८८ करोड रुपैयाँ बराबर रहेकोे थियो ।