बुटवल पावरको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म कम्पनीको नाफा १३.२९ प्रतिशतले बढेर ८ करोड ५८ लाख रुपैयाँ भएको छ ।
गत वर्षको यसैअवधिमा कम्पनीले ७ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २० करोड ७६ लाख रुपैयाँबाट बढेर २१ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
यसले गर्दा खुद नाफा बढ्न सहयोग पुगेको छ । अन्य आम्दानी ७० लाख ७६ हजार रुपैयाँबाट बढेर ७१ लाख ६५ हजार रुपैयाँ भएको छ ।
यस्तै, कम्पनीको प्रशासनिक खर्चमा पनि केही कटौती भएकाले पनि नाफा बढ्न सहयोग पुगेको छ । हाल बुटवल पावरको सेयर पुँजी ३ अर्ब २४ करोड ६३ लाख रुपैयाँ र अन्य इक्विटी ३ अर्ब ८० करोड ७७ लाख रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी थोरैले बढेर २ रुपैयाँ ६५ पैसा भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २ रुपैयाँ ५७ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ २९ पैसा छ ।
वि.सं.२०७९ कात्तिक २९ ०७:५९



















