back
stc
prabhu insurance

स्थानीय तहको निर्वाचनमा निजी क्षेत्रको हेलिकप्टर समेत प्रयोग गरिने

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनमा आवश्यक परे निजी क्षेत्रको समेत हेलिकप्टर प्रयोग गर्ने भएको छ । गृह मन्त्रालयले यही वैशाख ३० गते देशभर एकैसाथ हुन लागेको स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन आवश्यक परे निजी क्षेत्रको हेलिकप्टरसमेत प्रयोग गर्ने भएको हो ।

गृह मन्त्रालयमा आज सरकारका प्रतिनिधि र वायुसेवा सञ्चालक सङ्घमा आबद्ध विभिन्न एयरलाइन्सका प्रतिनिधिहरुसँग बसेको बैठकमा सडक नपुगेका दुर्गम स्थानमा मतपत्र ढुवानी, मतदान क्षेत्रमा सुरक्षाको प्रबन्ध तथा मत पेटिकाको ओसारपसारमा निजी क्षेत्रको हेलिकप्टर प्रयोग गर्नेबारे छलफल भएको हो ।

स्थानीय निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न सबै प्रकारको सुरक्षाको चाँजोपाँजो मिलाउनका लागि आवश्यक परेमा हवाई सेवा पनि तत्काल उपलब्ध हुनेगरी तैनाथ अवस्थामा राख्न बैठक बसिएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।