back
stc
prabhu insurance

आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सिट बाँडफाँटको सकसमा रहेका सत्तारुढ दलहरुको बैठक आज पनि बस्दैछ। निरन्तर बैठक गरिरहेको कार्यदलसहित शीर्ष नेताहरु आज पनि छलफलमा जुट्ने भएका हुन्।

कार्यदल सहित शीर्ष नेतारुको बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्ने कार्यदल सदस्य एवम् राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिए।

हिजो पनि कार्यदलसहित शीर्ष नेताहरुको बैठक बसेको थियो। बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो। कार्यदलका सदस्यहरुका अनुसार आधा जति सिटमा सहमति जुटिसकेको छ।

कार्यदलले निर्वाचन क्षेत्र अनुसार बुझाएको सिट बाँडफाँटको खाकामा एक सय हाराहारीमा सहमति जुटेको र ६५ सिटमा दाबी धेरै देखिएकाले सहमति जुट्न नसकेको सदस्यहरुको भनाइ छ।

मंसिर ४ को निर्वाचनका लागि कांग्रेसले १ सय सिटमा दाबी गरेको छ भने माओवादीले ६० सिटमा दाबी गरेको छ। नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ३० बढी सिटमा दाबी गर्दा जनमोर्चाको दुई सिटमा दाबी छ।

असोज २ र ३ गते समानुपातिक तर्फको बन्द सूची बझुाउने निर्वाचन कार्यतालिका रहेकाले दलहरु छिट्टै सिट बाँडफाँट टुंगो लगाउने गरी निरन्तर छलफलमा छन्।