back
stc
prabhu insurance
nabil

चीनबाट आयात हुने सामग्री नाकाबाट सहज रुपमा भित्रन नसकेको व्यवसायीको गुनासो

काठमाडौं । चीनबाट आयात हुने सामग्री नाकाबाट सहज रुपमा भित्रन नसकेको व्यवसायीले गुनासो गरेका छन् ।

आफूहरु चीन जान नपाउने अवस्था कायमै रहेको र यसबाट नेपाली व्यवसायीको अर्बौँ रुपैयाँको सामान जोखिममा परेको उनीहरुको भनाइ छ । व्यवसायीहरुले नाकामा सहज नहुँदा व्यवसायबाटै पलायन हुनुपर्ने अवस्थामा बनेको गुनासो गरेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले केरुङ र तातोपानी नाकामा व्यवसायीलाई पनि अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएको छ । अहिले सम्बन्धित जिल्लाका व्यवसायी मात्रै नाकापारि जान सक्ने अवस्था छ ।

महासङ्घका अध्यक्ष कुमार कार्कीले चीनसँग जोडिएको दुई वटा नाका केरुङ र तातोपानी नाकामा जिल्लाका व्यवसायी मात्रै जान पाउने सिण्डिकेट हटाएर सबै व्यवसायीलाई अस्थायी पासको व्यवस्था मिलाउन आफूहरुको माग रहेको बताउनुभयो । उहाँले धेरै सामान चीनबाट आयात हुने तर व्यवसायी आफैँ जान नपाउँदा समस्यामा परेको बताउनुभयो ।

चीनबाट आयात हुने सामान नाकामा फुट्ने, लामो समयदेखि आएर कुहिने हुँदा पनि व्यवसायी नाका पारि जान नपाउने अवस्था विद्यमान रहेको उहाँको भनाइ छ ।

अध्यक्ष कार्कीले सामान ढुवानी गर्न, ट्रकमा सामान लोड गर्न समेत सम्बन्धित जिल्ला र स्थानीय साधन लैजानुपर्ने एकाधिकार हटाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानाकर्षण समेत गराएको बताउनुभयो । महासङ्घले व्यवसायीलाई सहज रुपमा व्यापाररव्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो ।

चीनसँग पारवहन सम्झौता भएको लामो समय हुँदा पनि कार्यान्वयन हुन नसकेको महासङ्घले जनाएको छ । महासङ्घका उपाध्यक्ष लक्ष्मी खड्काले चीनबाट अर्बौँ रुपैयाँ लगानी गरेर आयात गरेको सामान ल्याउनको लागि आफैँ जान पाउनुपर्ने बताउनुभयो ।

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले पनि चीनसँग जोडिएको केरुङ र तातोपानी नाकामा रसुवा र सिन्धुपाल्चोक जिल्लाका व्यवसायीले मात्रै नाकापारि जान पाउने व्यवस्थाले समस्यामा पारेको बताउनुभयो । व्यवसायीले नाकामा भन्सार तिर्न समेत झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।