back
stc
prabhu insurance

आयात–निर्यात दुवै घट्यो, व्यापार घाटा साढे ३ खर्ब माथि

काठमाडौं । देशबाट हुने आयात र निर्यात दुवै घटेको छ भने व्यापार घाटा साढे ३ खर्ब रुपैयाँ माथि रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज) सम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो।

प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको ३ महिनामा कुल वस्तु आयात ४.२ प्रतिशतले घटी रु. ३ खर्ब ९० अर्ब ७५ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.७ प्रतिशतले वृद्घि भएको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन, तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.९ प्रतिशत, १.५ प्रतिशत र ७।९ प्रतिशतले कमी आएको छ।

यसैगरी चालु आर्थिक वर्षको ३ महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले घटी रु. ३८ अर्ब ३८ करोड रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २.३ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ५.३ प्रतिशत, २४.८ प्रतिशत र ६.६ प्रतिशतले कमी आएको छ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटामा ४।० प्रतिशतले कमी आई रु।३ खर्ब ५२ अर्ब ३७ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २.१ प्रतिशतले वृद्घि भएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९।८ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० प्रतिशत रहेको थियो।