back
stc
prabhu insurance

चाडपर्वका लागि चिनीको मौज्दात नहुँदा व्यापारीहरूले चिनीको मूल्य बढाउन सक्ने

काठमाडौं । यसवर्षको दशैंमा चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा धेरै पुग्न सक्ने भएको छ । सरकारी अनुदानको चिनी खरिद विक्री गर्दै आएका दुई कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चाडपर्वका लागि चिनीको मौज्दात नहुँदा व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाउन सक्ने भएकाले यसको मूल्य नियन्त्रण बाहिर जाने देखिएको छ ।

यतिबेला साल्ट ट्रेडिङ कर्पोरेशनसँग करीब २ सय टन चिनी छ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चिनीको मौज्दात शून्य छ ।

व्यापारीहरूले यही मौका छोप्दै मनपरी ढंगले चिनीको मूल्य तोक्न सक्ने सरोकारवालाहरूले बताएका छन् । सरकारी कम्पनीसँग मात्र होइन, चिनी उत्पादक संघसँग पर्याप्त मात्रामा चिनी मौज्दात छैन । संघसँग यतिबेला करीब ६ हजार टन मात्र चिनी मौज्दात रहेको बताइन्छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय प्रबन्धक कुमार राजभण्डारीले कर्पोरेशन र खाद्य कम्पनीसँग चिनी नभएको मौका छोप्दै दशैंमा व्यापारीहरूले प्रतिकिलो चिनीको मूल्य १ सय १० रुपैयाँसम्म तोक्न सक्ने अनुमान रहेको बताएका छन् ।

सरकारले सरकारी कम्पनीलाई चिनी खरीदको अनुमति नदिँदा व्यापारीहरूलाई चिनीको मूल्यमा मनपरी गर्न सक्ने देखिएको छ । सरकारी कम्पनीले बजार मूल्यलाई हस्तक्षेप गरी बजार अनियन्त्रित हुनबाट बचाउँछन् ।

खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले पनि अबको केही दिनमै चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँ नाग्न सक्ने बताए।

उनले दशैंको बेलामा त्यो मूल्य अझ बढेर जाने सम्भावना प्रबल रहेको जानकारी दिए । अहिले खुद्रा व्यापारीहरूले प्रतिकिलो ९० रुपैयाँ थोक मूल्यमा चिनी खरिद गरेका छन् । ढुवानी खर्च,मजदूर खर्च समेत जोड्दा एक किलो चिनीमा ९५ रुपैयाँ लागत पर्न जान्छ ।

अहिले ९५ रुपैयाँमा नै उपभोक्तालाई चिनी बिक्रि हुँदै आएको। त्यसैले १ सय रुपैयाँ पुर्‍याउनै पर्ने भएको छ । केही गरी सरकारले त्यो बेलासम्म पनि चिनी ल्याउन सकेन भने मूल्य त १ सय रुपैयाँ भन्दा माथि नै जान्छ।