back
stc
prabhu insurance

चाडपर्वलक्षित सुपथ मूल्य पसलको कारोबार गत वर्षको तुलनामा बढे

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेको चाडपर्वलक्षित सुपथ मूल्य पसलको कारोबार गत वर्षको तुलनामा बढेको छ।

असोज १ देखि कात्तिक १५ गतेसम्म सञ्चालनमा रहेको सुपथ मूल्य पसलमा कम्पनीले दुई हजार ९९२ मेट्रिक टन खाद्यवस्तु बिक्री गरेर दुई करोड २४ लाख ३१ हजार २५२ रुपियाँ बराबरको कारोबार गरेको छ।

हिमाली जिल्ला मनाङ र मुस्ताङको रिपोर्ट आउन बाँकी रहेकाले यो वर्ष तीन हजार मेट्रिक टन बिक्री भएको अनुमान कम्पनीले गरेको छ।

गत वर्षको दशैँतिहार सुपथ पसलमा कम्पनीले दुई हजार छ सय मेट्रिक टन खाद्यवस्तु बिक्री गरेर एक करोड ९७ लाख रुपियाँको कारोबार गरेको थियो।

कम्पनीका बिक्री वितरण विभागका प्रमुख भीमबहादुर थापाले यस पटक सरकारले दिएको लक्ष्यभन्दा तीन सय मेट्रिक टन बढी खाद्यान्न बिक्री गरेको जानकारी दिनुभयो।

उहाँका अनुसार सरकारले कम्पनीलाई दुई हजार सात सय मेट्रिक टन खाद्यान्न बिक्री गर्नेगरी दुई करोड दुई करोड ३२ लाख रुपियाँ अनुदान उपलब्ध गराएको थियो।

कम्पनीका अनुसार कम्पनीले गत वर्ष सरकारले दिएको लक्ष्यअनुसार खाद्यवस्तु बिक्री गर्न नसकेपछि दशैँतिहारलक्षित सुपथ मूल्य पसल माघी पर्व माघ २ गतेसम्म सञ्चालन गरेको थियो।

गत वर्ष पाँच महिनासम्म सुपथ मूल्य पसल सञ्चालन गर्दा दुई हजार छ सय मेट्रिक टन खाद्यवस्तु बिक्री गरेको थियो। सरकारले गत वर्ष कम्पनीलाई दिएको लक्ष्य भने दुई हजार पाँच सय मेट्रिक टन थियो।

कम्पनीका अनुसार यस वर्ष कम्पनीले उपत्यकाका चार स्थानसहित ३९ जिल्लाका बिक्री केन्द्रसमेत गरेर ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको थियो।

खाद्य कम्पनीले चामल, दाल, फापर, पिठोमा प्रतिकेजी सात रुपियाँ, तोरी, सनफ्लावर र भटमासको तेलमा प्रतिलिटर सात रुपियाँ छुट दिएको थियो।

जिउँदो खसीबोका प्रतिकेजीमा १० छुट दिएको थियो। सो अवधिमा कम्पनीले सबैभन्दा धेरै थापाथलीबाट बढी कारोबार भएको थियो भने क्रमशः सुर्खेत, कर्णालीको बाजुरा, डोटीमा भएको थियो। यस अवधिमा सबैभन्दा बढी मध्यम चामलको कारोबार भएको कम्पनीले जनाएको छ।

इन्डक्सन चुलो बिक्री सुरु

कम्पनीले बिहीबारदेखि माइडिया ब्रान्डको इन्डक्सन चुलो बिक्री सुरु गरेको छ। तीन हजार ७५० रुपियाँमा उक्त इन्डक्सन चुुलो बिक्री गर्न थालेको कम्पनीले जनाएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले तत्काल चार सय इन्डक्सन चुलो खरिद गरेको र माग भएमा थप ल्याउन सकिने जानकारी दिनुभयो। उहाँका अनुसार उक्त ब्रान्डको चुलोको बजार मूल्य चार हजारदेखि चार हजार दुई सय रुपियाँसम्म छ।