back
stc
prabhu insurance

नेपाल टेलिकमको मुनाफा बढाउन प्रबन्धक निर्देशकले बनाए यस्तो योजना

काठमाडौं । विगतको लगडाउन र निषेध आदेशको कारण नेपाल टेलिकमले नाफा लगातार घटेपछि नेपाल टेलिकमले तीन क्षेत्रमा लगानी केन्द्रित गर्ने रणनीति बनाएको छ ।

दूरसंचार सेवामा निजी क्षेत्रको एनसेल र फाइबर इन्टरनेट सेवामा निजी क्षेत्रका ठूला आइएसपीहरुसँग प्रतिष्पर्धा गरिरहेको टेलिकमले एफटीटीएच, मोबाइल र लिज कनेक्टिभिटी (इन्टरप्राइजेज) लाई प्राथमिकता दिएर लगानी विस्तार गर्न लागेको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आम्दानी नघटेका क्षेत्रमा लगानी केन्द्रित गर्ने जानकारी दिएका छन् । विगत तीन वर्षको तथ्यांक केलाउँदै अधिकारीले भने–‘टेलिकमले जुन क्षेत्रमा लगानी गरेको छ सो क्षेत्रमा आम्दानी घटेको छैन ।’

जिएसएम मोबाइल र एफटीटीएच सेवामा टेलिकमले २०७६/०७७ को तुलनामा २०७७/७८ मा आम्दानी बढाएको छ ।

नेपाल टेलिकमले फिक्स्ड लाइन (ल्याण्डलाइन), एडीएसएल, सीडीएमए सेवामा टेलिकमले लगानी गर्न छोडेको छ । टेलिकमले चालु आर्थिक वर्षमा सीडीएमए सेवालाई पूर्ण रुपमा मोबाइल सेवामा माइग्रेसन गर्ने रणनीति कार्यान्वयन गरिरहेको छ ।

टेलिकम वाइम्याक्स सेवालाई पनि माइग्रेसन गर्ने योजनामा रहेको प्रबन्धक निर्देशक अधिकारीले जानकारी दिएका छन् ।

कम्पनीले लगानी गर्नै छोडेपछि फिक्स्ड लाइन (ल्याण्डलाइन), एडीएसएल र सीडीएमए सेवाबाट हुने आम्दानी घटदै गएको छ ।

कोरोना महामारीको असर सुरु भएसँगै यात्रा प्रतिबन्ध लागेपछि अन्तर्राष्ट्रिय कल, रोमिङ र एसएमएसमा आम्दानी घटेको देखिन्छ ।

टेलिकमले आफ्नो कुल आम्दानीको करिब ७० प्रतिशत भ्वाइस सेवाबाट प्राप्त गर्ने गरेको जनाइएको छ । लकडाउनका कारण उक्त आम्दानीमा राम्रोसँग असर पुगेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिएका छन् ।