एनसेलले ल्यायो ज्येष्ठ नागरिक लक्षित निःशुल्क सिमसहितको विशेष योजना

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ज्येष्ठ नागरिकका लागि बन्डल अफरहरु सहितको आकर्षक निःशुल्क सिम योजना संचालनमा ल्याएको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा शुक्रबारबाट संचालनमा ल्याईएको यस योजना अन्तर्गत ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको सिम निःशुल्क लिन सक्छन् । साथै रु ५० वा सो भन्दा बढीको हरेक रिचार्जमा ६ महिनासम्म बोनसका रुपमा पाईने सेवा, सुविधाहरु यसमा समावेश छन् ।
यो योजना अन्तर्गत पहिलो रु ५० वा सो भन्दा बढीको रिचार्जमा ज्येष्ठ नागरिकहरुले १०० एमबी डेटा र १०० वटा अननेट एसएमएस बोनस पाउँछन् । त्यस्तै पहिलो रिचार्जपछि त्यस सिमबाट ज्येष्ठ नागरिकहरुले ६ महिनासम्म विषेश छुट सहितको शुल्कमा भ्वाइस, डेटा र भारत कल सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकले विशेष छुट अन्तर्गत रु १ प्रति मिनेटमा भ्वाइस सेवा, रु १ प्रति एमबीमा डेटा सेवा र रु १।९९ प्रति मिनेटमा भारतमा कल गर्न सकिनेछ ।
यसका साथै यसै योजना अन्तर्गत रिचार्जमा पनि बोनसको सुविधा रहेको छ । रु ५० देखि रु ९९ सम्म रिचार्ज गर्ने ग्राहकले ७ दिनको समयसिमा रहेको २०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्ने र रु १०० देखि रु १९९ सम्म रिचार्ज गर्ने ग्राहकले बोनस बापत ५०० एमबी डेटा पाउने कम्पनीले जनाएको छ । रु २०० वा सो भन्दा बढी रिचार्ज गर्ने ग्राहकले १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनसमा पाईने यी डेटाहरु ७ दिनको लागि मान्य हुनेछ । ।
ज्येष्ठ नागरिकहरुले आफ्नो नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकता लिएर गई सजिलै यो सिम कार्ड लिई सेवा, सुविधाको लाभ लिन सक्ने जनाइएको छ । यो योजना असोज २२ गते सम्म संचालनमा रहनेछ ।
वि.सं.२०७८ असोज १७ २१:३८