back
stc
prabhu insurance

वर्ल्डलिंकले नयाँ १० जीबीपीएस प्रविधिमा फाइबर टु होम नेटवर्क अपग्रेड गर्दै

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जीपोन( नेटवर्क स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ ।

कम्पनीले आफ्नो फाइबर टु होम नेटवर्क अर्को साता देखी क्रमशः एक्सजीएस–पोनमा अपग्रेड गर्दै लैजाने जानकारी गराएको छ । नेपालमा एक्सजीएस–पोनमा नेटवर्क अपग्रेड गर्ने आफू पहिलो कम्पनी भएको वर्ल्डलिंकको दाबी छ ।

यससँगै अब फाइबर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र अपलोड स्पिड समान दिन सकिने कम्पनीले जनाएको छ । यसअघि सेवाप्रदायकहरुले डाउनलोड स्पिडभन्दा अपलोड स्पिड थोरै दिने अवस्था थियो ।

विद्यमान जीपोन नेटवर्क प्रविधिमा २।५ जीबीपीएस डाउनलिंक तथा १.२५ जीबीपीएस अपलिंक असममित ब्याण्डविथ भएकोले डाउनलोड समानकै अपलोड स्पिड उपलब्ध गराउन सम्भव थिएन ।

तर अब एक्सजीएस–पोन प्रविधिबाट सममित १० जीबीपीएस डाउनलोड स्पिड र १० जीबीपीएस अपलोड स्पिड समानरुपमा दिन सकिने छ ।

इन्टरनेट नेटवर्कमा पोन एउटा यस्तो विन्दु हो, जहाँबाट इन्टरनेटको मुख्य फाइबर पूर्वाधारबाट विभिन्न ग्राहकहरूका लागि इन्टरनेटको फाइबर तार अलग्याएर लगिएको हुन्छ र घरको फाइबर राउटरमा जोडिएको हुन्छ ।

जीपोनको तुलनामा नयाँ १० जीबीपीएस एक्सजीएस पोनमा अपलिंक ब्याण्डविथको क्षमता आठ गुणा बढी र डाउनलिंक ब्याण्डविथको क्षमता चार गुणा बढी छ । साथै पोन नेटवर्क लेटेन्सीमा पनि जीपोन को तुलनामा केहि सुधार हुनेछ ।

सैद्धान्तिक रुपमा हरेक जीपोन पोर्टहरूबाट अहिलेको १२८ ग्राहकको तुलनामा दोब्बर सङ्ख्या २५६ ग्राहकहरूलाई इन्टरनेट कनेक्सनहरू उपलब्ध गराउन सकिनेछ ।

साथै विद्यमान जीपोनको तुलनामा एक्सजीएस–पोनमा हालको एक्सेस लोकेसनबाटै धेरै टाढा रहेका ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ ।

निकट भविष्यमै एक्सजीएस–पोनलाई सफ्टवेरबाट अपग्रेड गरी २५ जीपोनको लागि पनि आफ्नो पूर्वाधार कम्पनी नोकियासँग पनि नेपालमा बेटा परीक्षण गर्ने छलफल भइरहेको कम्पनीले जनाएको छ ।

यसबाट अब भविष्यमा १ जीबीपीएस भन्दा बढी ब्याण्डविथ स्पीडमा इन्टरनेट सेवा दिन सकिने छ। कन्टेन्ट क्रियटर, युट्युबर, स्ट्रिमर, गेमर , भिडियो कन्फ्रेन्स जस्ता अपलिंक ब्याण्डविथ बडी प्रयोग गर्ने ग्राहकका लागि यो नयाँ प्रविधिले सहज हुने कम्पनीको विश्वास छ ।

साथै, हालसम्म कर्पोरेट ग्राहकलाई जीपोनबाट सेवा दिइरहेको कम्पनीले अपग्रेडपछि कर्पोरेट र होलसेल ग्राहकहलाई पनि एक्सजीएस पोनबाट पोर्ट, इन्टरनेट तथा एमपीएलएस डेटा सेवा दिने कम्पनीले जनाएको छ ।