back
stc
prabhu insurance

टानको अध्यक्षमा सापकोटाको उम्मेदवारी

काठमाडौं । ट्रेकिङ कम्पनीहरुको एक मात्र साझा व्यवसायिक संस्था ट्रेकिङ एशोसिएशन अफ नेपाल (टान) मा नेकपा (एमाले)को तर्फबाट राजेन्द्रप्रसाद सापकोटाले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

सापकोटाले आफ्नो उम्मेदवारी सामाजिक सञ्जालमार्फत घोषणा गरिसकेका छन् । टानको साधारण सभा एवम् निर्वाचन आगामी २०७९ साउन ३० गते काठमाडौंमा हुँदैछ । केही महिनाअघि नै हुनुपर्ने चुनाव टानका पदाधिकारीकै कारण ढिला हुन पुगेको हो ।

सापकोटाले आफ्नो उम्मेदवारी घोषणा गर्दै खस्कँदो अवस्थामा पुगेको पदयात्रा व्यवसायको पुनर्ताजकीकरणका लागि भद्रगोल अवस्थामा रहेको टिम्सलाई खारेज गरी ट्रेकिङ कम्पनीको सिफारिसमा सबै ट्रेकिङ रुटहरुमा अनिवार्य  ट्रेकिङ परमिट लागु गराउन प्रयास गर्ने बताएका छन् ।

यसका साथै उनले सबै पदयात्रा क्षेत्रमा अनिबार्य गाईड लिएर मात्र पदयात्रा गर्नुपर्ने नियम लागु गराउन सरकारसँग लबिङ गर्ने, टिम्स कोषमा रहेको टानको रकम निकासा गरी स्थानीय निकायसँगको सहकार्यमा पदयात्रा मार्गको स्तरोन्नतिका साथै प्रबर्द्धन गर्ने प्रयास गर्ने र विगत लामो समयदेखि टानमा रहेका बेरुजुहरुको फर्छौट गराई टानलाई पारदर्शी संस्थाको रुपमा अगाडि बढाउने आफ्ना एजेन्डा रहेको बताएका छन् ।

त्यसैगरी सापकोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको विभिन्न मुद्दाहरुलाई कानुनी तबरबाट यथाशीघ्र निरुपण गरी संस्थाको छविलाई स्वच्छ बनाउन अधिकतम प्रयास गर्ने, ट्रेकिङ कम्पनीको चुक्ता पुँजी २५ लाखबाट बढाएर ५० लाख पुरयाइएकोमा त्यसलाई घटाएर पुरानै २५ लाख बनाउने प्रयास गर्ने उल्लेख गरेका छन।

मजदुर र व्यवसायीहरुबीच उच्चतम सहकार्यमा पर्यटकहरुलाई सेवा दिने, मालिक र मजदुरबीच सौहार्दपूर्ण सम्बन्ध निर्माण गर्न टानले अभिभाबक्त्वको भूमिका खेल्ने वातावरण निर्माण गर्ने एजेन्डा उठाएका छन् । अन्य दल निकट व्यवसायीहरूले भने अहिलेसम्म उम्मेदवारी घोषणा गरेका छैनन् ।

टान अध्यक्ष सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले लिने दाबी गरिरहेको छ । कांग्रेसले नारा र एनएमएको नेतृत्व नेकपा (माओवादी केन्द्र) लाई छोडेका कारण आफू टानको नेतृत्व लिने दाबी गरिरहेको छ ।

एनएमएको अध्यक्ष माओवादी केन्द्रलाई दिने भनिएपनि निमानुरु शेर्पा साझा उम्मेदवार भएका कारण टानको नेतृत्वमा माओवादी केन्द्रले के गर्छरु गठबन्धन कस्तो बन्छरु भन्ने कुराले टुंगो लाग्ने व्यवसायीहरु बताउँछन् ।

अहिलेसम्म यही सत्ता गठबन्धन नै कायम राख्नुपर्ने बताइरहेका छन् । एमाले भने अहिलेसम्म एक्लै देखिएको छ ।