back
stc
prabhu insurance
nabil

थपिए छ लाख ६५ हजार फोरजी प्रयोगकर्ता

काठमाडौँ । दूरसञ्चार सेवाप्रदायकले फोरजी विस्तारलाई प्राथमिकतामा राख्दा यसका प्रयोगकर्ता पनि उल्लेख्य बढ्न थालेका छन् । पछिल्लो तथ्याङ्क अनुसार एक महिनामै फोरजी प्रयोग गर्नेको सङ्ख्या छ लाख ६५ हजारले बढेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार २०७९ मङ्सिरको तुलनामा पुसमा यो सङ्ख्यामा फोरजी प्रयोगकर्ता थपिएका हुन् । मङ्सिरमा देशभर एक करोड ८४ लाख ८४ हजार फोरजी प्रयोगकर्ता रहेकामा पुसमा एक करोड ९१ लाख ४९ हजार पुगेको छ ।

नेपाल टेलिकमका फोरजी प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदा फोरजीको समग्र पहुँच बढेको हो । मङ्सिरसम्म टेलिकमका एक करोड १५ लाख ५० हजार फोरजी प्रयोगकर्ता रहेकामा पुसमा एक करोड २१ लाख ९७ हजार नाघेको छ । यस हिसाबले एक महिनामै टेलिकमले छ लाख ४७ हजार फोरजी प्रयोगकर्ता थपेको छ ।

टेलिकमको तुलनामा एनसेलका फोरजी प्रयोगकर्ताको सङ्ख्या भने सामान्य मात्र बढेको छ । मङ्सिरसम्म एनसेलका ६८ लाख १९ हजार फोरजी प्रयोगकर्ता रहेकामा पुसमा करिब ६८ लाख ४५ हजार मात्र पुगेको छ ।

अर्को सेवाप्रदायक स्मार्ट टेलिकम भने सेवा विस्तारमा अत्यन्त कमजोर देखिएको छ । स्मार्टका प्रयोगकर्ता बढ्नुको साटो घट्ने क्रममा छन् । मङ्सिरसम्म स्मार्टका एक लाख १४ हजार फोरजी प्रयोगकर्ता रहेकामा पुसमा घटेर एक लाख सात हजार पुगेका छन् ।

घट्दै थ्रीजी प्रयोगकर्ता

फोरजीका कारण पुरानो प्रविधि बन्दै गएको थ्रीजीका प्रयोगकर्ता भने घट्दो क्रममा छन् । सेवा प्रदायकले थ्रीजी प्रयोगकर्तालाई समेत फोरजीमा

‘अपगे्रड’ गर्ने नीति लिँदा यसका प्रयोगकर्ता घटिरहेका हुन् । तथ्याङ्क अनुसार मङ्सिरको तुलनामा पुसमा नौ लाख ७७ हजार थ्रीजी प्रयोगकर्ता घटेका छन् । मङ्सिरसम्म ८८ लाख ९४ हजार थ्रीजी प्रयोगकर्ता रहेकामा पुसमा घटेर ७९ लाख १७ हजार पुगेको छ ।

फोरजी प्रयोगकर्ता बढाएको नेपाल टेलिकमकै मात्र थ्रीजी प्रयोगकर्ता घटेका छन् । एनसेलका थ्रीजी प्रयोगकर्ता भने सामान्य मात्र बढेको छ ।

प्राधिकरणका अनुसार मङ्सिरसम्म टेलिकमका ७० लाख ३९ हजार थ्रीजी प्रयोगकर्ता रहेकामा पुसमा करिब १० लाखले घटेर ६० लाख ५१ हजारमा झरेको छ ।

एनसेलले एक महिनाको उक्त अवधिमा १० हजार थ्रीजी प्रयोगकर्ता बढाएको छ । मङ्सिरसम्म एनसेलका १८ लाख ५५ हजार थ्रीजी प्रयोगकर्ता रहेकोमा पुसमा १८ लाख ६५ हजार पुगेको हो ।

देशभर मोबाइल इन्टरनेटको पहुँच भने कुल जनसङ्ख्याको ९३ प्रतिशत नाघेको छ । प्राधिकरणका अनुसार देशका दुई करोड ७१ लाख जनसङ्ख्या मोबाइल, इन्टरनेटको पहुँचमा छन् ।