१०० प्रतिशत पुँजी थप गर्न संस्थापक सेयरधनीहरुसँग रिलायबल नेपाल लाइफको आग्रह
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुलाई शतप्रतिशत पुँजी थप गर्न आग्रह गरेको छ ।
संस्थापक सेयरधनीसँग आफ्नो नाममा हाल कायम रहेको कुल सेयर बराबरको थप लगानी गर्न आग्रह गरेको हो । सर्वसाधारणमा आइपीओ जारी गर्न बाँकी यस कम्पनीले बिमा समितिले तोकेको न्यूनतम ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने उद्देश्यले संस्थापक सेयरधनीसँग थप लगानी माग गरिएको जनाएको छ ।
कम्पनीको जेठ २५ गते बसेको साधारण सभाले पनि पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको थियो । रिलायबलले शुक्रबार सूचना जारी गर्दौ भदौ ६ गतेभित्रमा थप लगानी रकम जम्मा गर्न संस्थापक सेयरधनीहरुलाई भनेको छ ।
संस्थापक सेयरधनीहरुले ग्लोबल आइएमई बैंक कान्तिपथ, कुमारी बैंक पुतलीसडक, सिद्धार्थ बैंक न्यूरोड र नेपाल इन्भेष्टमेन्ट बैंक, कालिमाटीमा रहेको बैंक खातामा रकम जम्मा गर्नुपर्नेछ ।
हाल रिलायबल नेपालको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । संस्थापक सेयरधनीहरुले १००५ पुँजी थप गरेपछि चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।
त्यसपछि सर्वसाधारणलाई १ अर्ब २० करोड रुपैयाँको आइपीओ जारी गर्ने कम्पनीको योजना रहेको छ ।
वि.सं.२०७९ असार १७ १३:२५




















