सगरमाथा इन्स्योरेन्सको बीमा शुल्क आम्दानीमा करिब १५ प्रतिशतले वृद्धि
काठमाडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेडले बीमाशुल्क आम्दानीमा करिब १५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । चालू आर्थिक वर्षको असार २८ गतेसम्ममा कम्पनीको बीमाशुल्कवापतको आम्दानी तीन अर्ब नाघेको छ ।
तीन अर्ब रुपैयाँ बीमाशुल्क आम्दानीको लक्ष्य पुरा भएकोमा सगरमाथा इन्स्योरेन्सका कर्मचारीले खुशियाली मनाउँदै केक काटेका छन् ।
चालू आवको जेठ मसान्तसम्ममा सगरमाथा इन्स्योरेन्सले २ अर्ब ७९ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत चैत्र मसान्तसम्ममा २ अर्ब ४३ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क आम्दानीसँगै सगरमाथा निर्जीवन बीमा कम्पनीहरुमध्ये दोश्रो स्थान हासिल गर्न सफल भएको थियो ।
सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेको थियो ।
यो अघिल्लो आ।वको तुलनामा १६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब २५ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
वि.सं.२०७९ असार २८ २०:०१




















