आज प्राइम लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको आज (पुस २४ गते) वार्षिक साधारण सभा बस्दैछ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६८ प्रतिशत नगद गरी कुल १३.६८५ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा संस्थापक र सर्वसाधारण समूहको सेयर लगानी अनुपात क्रमश ५१ प्रतिशतर ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
त्यस्तै, सभाले मर्जर समितिबाट पेश भएको यूनियन लाइफ र गुँरास लाइफसँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्नेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि इन्स्योरेन्सले पुस ८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस ७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । हाल प्राइम लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का रहेको छ ।
प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने भएपछि यसको सेयर कारोबार रोक्का रहेको छ । यी ३ कम्पनीले वैशाख २९ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
वि.सं.२०७९ पुस २४ ०८:१४




















