सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आठौं साधारण सभा चैत ८ गते
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी चैत ८ गते शुक्रबार आठौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ बानेश्वरस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।
साधारण सभाले चुक्ता पूँजीको १ दशमलव २४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ।
बोनस शेयर वितरणपछि पूँजी बढ्ने भएकाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।
यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभाका लागि तय गरिएका छन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन्।
वि.सं.२०८१ फागुन १६ ०७:४८



















