छब्बिस सयमा सिलिन्डर बेच्नेलाई तीन लाख जरिबाना
काठमाडौँ । काठमाडौँ उपत्यकावासी उपभोक्ता खाना पकाउने एलपी ग्यासको चरम अभावसँगै कालोबजारीको मारमा छन् । असारको अन्तिम सातादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ता पछिल्लो समय भोटेकोशीको हिमबाढी र पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिरमा गएको पहिरोपछि आपूर्ति शृङ्खलामा अवरोध हुँदा ग्यासको अभावसँगै कालोबजारीको मारमा परेका हुन् ।
अभावको फाइदा उठाउँदै केही व्यापारीले उपभोक्तामाथि लुट मचाइरहेका छन् । बिहीबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास अभावको मौकाछोपी उपभोक्ता ठगी गर्ने एउटा व्यवसायी फर्मलाई जरिबाना गरेको जनाएको छ ।
विभागको अनुगमन टोलीले काठमाडौँको मूलपानीस्थित बाबा चोकमा रहेको अनिल खाद्य किरना पसलले सुगम ग्यास प्रतिसिलिन्डर दुई हजार छ सय रुपियाँ लिएको प्रमाणसहित भेटेपछि तीन लाख रुपियाँ जरिबाना गरेको हो ।
विभागका निर्देशक अनिल किराँतीले उक्त पसलले प्रतिसिलिन्डर दुई हजार छ सय मा बिक्री गरेको भन्ने गोप्य उजुरीका आधारमा अनुगमन गर्दा प्रमाण नै भेटिएपछि जरिबाना गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार विभागको अनुगमन टोलीले गएको मङ्गलबार ग्यासमा कालोबजारी (मूल्यवृद्धि वा कृत्रिम अभाव) गरेको अभियोगमा एक व्यवसायीलाई तीन लाख रुपियाँ जरिबाना गरेको थियो ।
उहाँका अनुसार विभागले मङ्गलबारदेखि नै ग्यास उद्योग र विक्रेता एवं डिपोमा केन्द्रित भएर अनुगमन गरेको जनाएको छ । बिहीबार ग्यास उद्योग र डिपो गरी १० वटाको अनुगमन गरेकोमा अधिकांशमा ग्यास नआएको र सयौँको सङ्ख्यामा उपभोक्ता ग्यासको लाइनमा रहेको पाइएको विभागले जनाएको छ ।
काठमाडौँ उपत्यकामा ग्यास सिलिन्डर भर्ने १९ वटा प्लान्ट भए पनि कृष्णभिरमा सडक अवरुद्ध हुँदा ग्यास बुलेट आउन सकेका छैनन् । व्यवसायीले हेटौँडा, वीरगन्ज, नवलपरासी, धनुषालगायतका ठाउँबाट ग्यास भरेर उपत्यकामा ल्याइरहेका छन् ।
वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढेको भन्दै एलपी ग्यास उद्योग सङ्घले निगमले तोकेको प्रतिसिलिन्डर दुई हजार ६० रुपियाँमा थप १०५ रुपियाँ ३८ पैसा जोडेर बिक्री गर्न भनेको छ ।
उपभोक्ताले प्रतिसिलिन्डर दुई हजार छ सयदेखि तीन हजार रुपियाँसम्म तिर्न तयार हुँदा पनि सहजै ग्यास पाउन सकेका छैनन् । विभागले उपभोक्ता हितविपरीत बजारमा अनुचित व्यापारिक क्रियाकलाप गर्नेविरुद्ध विभागले बजार अनुगमनलाई तीव्र पार्दै आएको दाबी गरेको छ ।
नेपाल आयल निगमका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक ३५ हजारदेखि ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्ने भए पनि अहिले दैनिक औसत ३० हजार सिलिन्डर मात्र भित्रिइरहेका छन् ।
वि.सं.२०८३ भदौ २६ ०७:२९




















