डिप्रोक्स लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १३ सय ८८ रुपैयाँ ४२ पैसा निर्धारण गरेको छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
सभा प्रयोजनका लागि कम्पनीले आज मंगलबार असोज १२ गते बुक क्लोज गरेको छ । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५३५ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।
कम्पनीको २० औं वार्षिक साधारण सभा असोज २३ गते बस्ने भएको छ । सभा चितवन गार्डेन रिसोर्ट, चितवनमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा सेयर संरचना र कर्मचारीको पद समायोजनको विषयमा नाडेप लघुवित्तसँग असहमति भएकाले मर्जर प्रक्रिया अघि नबढेको र मर्जर गर्न पनि नसकिने भएकाले यो विषय राष्ट्र बैंकलाई जानकारी गराई सकिएको जनाइएको छ ।
यसर्थ, अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने र अहिलेसम्मका काम नियमन निकायहरुको निर्देशन अनुसार गराउनलाई सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि छ । यसले गर्दा नाडेपसँगको मर्जर प्रक्रिया डीमर्ज गर्ने प्रस्ताव राखिएको छ ।
सभामा साधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ ।
वि.सं.२०७८ असोज १२ ०८:०८