back
stc
prabhu insurance

थपिए भेन्टिलेटर र आईसीयू बेड

काठमाडौं । २०७७ माघमा चीनबाट नेपालमा कोरोना भाइरस भित्रियो । भाइरस नियन्त्रणका लागि सरकारले अरु तयारी गर्नुभन्दा निषेधाज्ञालाई उपयुक्त विकल्प ठान्यो । विश्व महामारीको रूप लिएको कोरोना कहर २०७७ साउनदेखि क्रमशः कम भयो ।

२०७७ चैत्र महिनादेखि भाइरसको दोस्रो भेरियन्ट सुरू भयो । त्यसले भारतसँगै नेपाललाई नराम्ररी प्रभावित पारिररहेको छ । यसबीचमा सरकारले कोरोना नियन्त्रणका लागि आवश्यक पहल नगरेको आरोप लागिरहेको छ ।

नेपालमा कोरोना भित्रिएको करिब डेढ वर्षमा सरकारले नियन्यत्रणसँगै संक्रमितको उपचार र व्यवस्थापनका लागि के(कति स्वास्थ्य पूर्वाधार निर्माण गर्यो रु आमचासोको विषय छ । केही दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भनेका थिए, ‘कोरोना नियन्त्रणका लागि निषेधाज्ञा उपयुक्त विकल्प होइन, संक्रमितको उपचार तथा व्यवस्थापनको तयारीका लागि मात्रै यो समय हो ।’

तर, कोरोनाको दोस्रो भेरियन्ट उत्कर्षमा पुग्दा पनि यथेष्ट स्वास्थ्य पूर्वाधार निर्माण हुन सकेन । पहिलो महामारीको भेरियन्टबाट पाठ सिकेर आवश्यक तयारी गर्न नसक्दा दोस्रो भेरियन्ट झन् भयानक भएर आयो, र उही नियति भोग्नुपर्यो । न त संक्रमितको उपचारका लागि अस्पताल बने, न उपकरण र प्रविधिकै व्यवस्थापन हुनसक्यो ।

कोरोना महामारी सुरू भएको डेढ वर्षमा चार जना स्वास्थ्यमन्त्री फेरिए । तर, स्वास्थ्य पूर्वाधार भने अपेक्षाकृत निर्माण हुन सकेन । तर, बनेका स्वास्थ पूर्वाधारको अवस्था हेर्ने हो भने स्थिति नाजुक छ ।

कोरोना संक्रमितको उपचारका लागि देशभर १५७ अस्पताल सूचीकृत छन् । निशुल्क उपचारका लागि ४५ वटा निजी अस्पतालसँग सम्झौता भएको छ । २०७७ साल वैशाखसम्म देशभर ३२७ भेन्टिलेटर थियो । अहिले थप गरी ९०४ पुर्‍याइएको छ । थप १८० भेन्टिलेटर थप्ने प्रक्रिया सुरू भएको छ ।
२६ सय रहेको आईसीयू बेडको संख्या बढाएर ३ हजार पुर्‍याइएको छ । ६ सय ३० वटा बेड थप्ने तयारी भइरहेको छ । कोभिड अघि नेपालमा एउटा पनि हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) बेड थिएन । एचडीयू बेड सरकारी अस्पतालमा २ हजार ७५ र निजीमा ७ सय ७८ थप गरी सञ्चालनमा ल्याइएको छ । १४ सय बेड थप गर्ने तयारी भइरहेको छ ।

अक्सिजन प्लान्ट १९ वटा थप गर्ने तयारी भइरहेको छ । कोभिडको बीचमा ५० को हाराहारीमा थपिएको छ । यसअघि ३२ वटा अक्सिजन प्लान्ट रहेकोको थियो । लिक्वीड अक्सिजन ट्यांङ्क ५ वटाबाट बढाएर २७ पुर्याउन पहल भइरहेको छ ।

लिक्वीड ट्याङ कोभिड अगाडि थिएन कोभिडपछि ५ वटा थपिएको हो । अक्सिजन सिलिण्डर कोभिड अगाडि ६३०० वटा थियो । कोभिडको बीचमा १४ हजार सिलिण्डर थपियो । मन्त्रालयका अनुसार नेपालमा कोभिड अगाडि लिक्वीड ट्याङ र एचडीयू एउटा पनि थिएन ।

यस अवधिमा ९ सय अक्सिजन कन्सन्ट्रेटर थप गरिएको छ भने अक्सिजन सिलिण्डर संख्या ५ हजार थप गरिएको छ । त्यस्तै देशभर ५५ वटा सरकारी प्रयोगशाला थपिएका छन्। हाल ३६ वटा निजी प्रयोगशालाबाट कोरोना परीक्षण भइरहेको छ । कोभिड अगाडि एउटा पनि थिएन ।

यो बीचमा अस्पताल थपिएका छैनन् । मन्त्रालयका अनुसार आइसोलेसन, क्वारेन्टाइन थपिए पनि अस्पताल भने एउटा पनि थपिएको छैन । अहिले देशभर ६ हजार ९ सय ३४ वटा अस्पताल सञ्चालनमा छन्, जहाँ १३ हजारको हाराहारीमा बेड छन् । पछिल्लो एक वर्षमा ती अस्पतलामा करिब २ हजार बेड थपिएका छन् ।

कोभिड महामारी नियन्त्रणमा सुरू देखिनै सक्रिय टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २४ आईसीयू बेड थियो, अहिले ४ वटा बढाएर २८ पुर्‍याइएको छ । जहाँ कोभिडको पहिलो लहरमा ७ वटा भेन्टिलेटर थियो, अहिले २२ वटा छ । जुन संक्रमितको चापअनुसार एकदमै कम हो । देशका अरु अस्पतालको स्थिति झन् दयनीय छ ।

चीनमा कोरोना भाइरस भेटिएको २ महिनामै नेपालमा पनि संक्रमण सुरू भएको थियो । चीनमा कोरोना करिब नियन्त्रणतिर गइसक्दा नेपाल भने आक्रान्त भइरहेको छ । तर, परिस्थितिको सही मूल्यांकन, आँकलन गरी स्वास्थ्य पूर्वाधार निर्माणसँगै अरु तयारी गर्न नसक्दा अहिले पनि स्थिति गम्भीर छ ।

परीक्षण र संक्रमितको उपचारसँगै व्यवस्थापन चुस्त हुन नसक्दा नेपालमा स्थिति विकराल बनेको चिकित्सकहरू बताउँछन् । सुरुमा नेपालमा कारोना परीक्षण गर्ने ल्याब नै थिएन, हङकङ पठाउनु परेको थियो । त्यो तुलनामा अहिले परिक्षणमा ठुलो सुधार भए पनि अपेक्षाकृत र आवश्यकताअनुसार पूर्वाधार बन्न सकेको छैन ।

मन्त्रालय भन्छ: स्वास्थ्य पूर्वाधार थप्दैछौं
स्वास्थ्य मन्त्रालयले भने कोरोना महामारी नियन्त्रण, संक्रमितको उपचार तथा व्यवस्थापनका लागि स्वास्थ्य पूर्वाधार थप्ने क्रम जारी रहेको बताएको छ । महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सेवा, सुविधा, उपचार, बेड, आईसीयूलगायतका संरचना थपिए पनि पर्याप्त नभएको बताउँछन्, मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल । उनी भन्छन्, ‘क्रमशः संरचनाहरू थपिँदै छन् ।’

‘अस्पताल थपिएर मात्रै कोरोना नियन्त्रण हुँदैन’अस्पतालको संख्या थपिएर मात्रै कोरोना नियन्त्रण नहुने बताउँछन्, संकट व्यवस्थापन विज्ञ डा. राम थपलिया । अज्ञानता, हेलचेक्रयाइँ र कमजोर नेतृत्वका कारण नेपालमा कोरोना महामारीले अहिलेको रूप लिएको उनको बुझाइ छ ।

‘विश्वका कतिपय देशमा कोरोना नदेखिँदै नेपालमा देखिएको थियो’ उनी भन्छन्, ‘त्यतिबेला नेपालमा कोरोना बढ्न नदिने मौका थियो, तर हामीले ख्यालख्याल ठानेर उपयुक्त कदम चालेनौं, सावधानी पनि अपनाएनौं, त्यसको असर अहिले भोगिरहेका छौं ।

’स्वास्थ्यकर्मीले चाहँदैमा कोरोना नियन्त्रण हुदैन,जनतामै कोरोना विरूद्व स्वास्थ्य सजकता आउनु पर्दछ र स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्नु पर्दछ। सरकारले पिसिआर परिक्षण व्यापक गर्नु पर्दछ,सबै नागरिकलाई खोप दिनु पर्दछ। साथै कोरोना देखिए लाइसोलेशन र भरपर्दो उपचार व्यवस्था मिलाउन सकेमात्र कोरोना महामारी नियन्त्रण गर्न सकिन्छ ।