विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न प्रदेश सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौ । बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ध्यानाकर्षण भएको जनाउदै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको जनाएका छन ।
उनले आज एक प्रेस विज्ञाप्ती प्रकाशित गर्दै प्रदेश संसदीय दलको नेतृत्व मार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेत समेत गराइएकोू जनाएको छ ।
उनले भनेका छ, ‘नेपाली कांग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिंदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन । शान्तिपूर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ । हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन । पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोही बमोजिम आफुलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।’
नेपाली काँग्रेसका काठमाडौ क्षेत्र नं ४ का बागमती प्रदेश सांसद नरोत्तम वैद्यले हिजो बागमती प्रदेश सभामा बोल्दै प्रधानमन्त्री केपी ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको भनी दिएको अभिव्यक्तिलाई लिएर नेकपा (एमाले) र नेपाली काँग्रेस तरङ्गित बनेको छ ।
शुक्रबार बागमती प्रदेश सभाको बैठकमा बैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए ।
नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई सन१९४८ जनवरी ३० मा गोली हानेर हत्या गरेका थिए ।
उनको सो अभिव्यक्तिलाई लिएर एमालेका नेताले मात्रै नभइ कांग्रेसले आपत्ति जनाउँदै सांसद वैद्यलाई आत्मआलोचना गर्न भनेको छ भने एमालेका नेताले तुरुन्त पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् ।
उनको सो अभिव्यक्तिपछि शुक्रबार राती कडा प्रतिक्रिया जनाउँदै एमाले नेता महेश बस्नेतले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त रु भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।
उनले गान्धीका हत्यारा नाथुराम गोड्से बन्न तयार छु भनेर वैद्यले प्रदेश सभामा खुल्लम खुल्ला बोलिरहेको भन्दै तुरुन्त पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् । उनले भनेका छन्–‘अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता व्यक्तिलाई सडकमै प्रतिरोध गर्न सक्छन् ।
त्यस्तो अप्रिय घटना घट्नुभन्दा अगाडी सरकार सचेत हुनुपर्दछ । केपी ओलीलाई मार्ने योजना बनाइरहँदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौँ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन् ।’
सांसद वस्नेतले मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार रहेको चेतावनी दिएका छन् ।
वि.सं.२०७८ जेठ २९ १०:४४