back
stc
prabhu insurance

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थपिँदै : 

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप्न आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

दिउँसो दुई बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

निरौलाका अनुसार यसपालि विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी छ ।

यसका लागि निश्चित समय तोकिने छ । ढुवानी र जनशक्तिको व्यवस्थापन कुन समयमा कसरी मिलाउने भन्नेबारे आज निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी  निरौलाले जानकारी दिनुभयो ।

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको हो । निषेधाज्ञा थप्नेबारे तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले केही दिनयतादेखि सम्बन्धित निकायसँग छलफल गर्दै आएका थिए ।

उपत्यकामा पछिल्लो समय थपिएको निषेधाज्ञा भोलिदेखि सकिँदैछ । यसैबीच, काठमाडौं उपत्यकामा निषेधाज्ञाको पालना नगर्ने २ सय ६७ वटा गाडी होल्ड भएका छन् ।

आज बिहानै मात्र उपत्यकाका विभिन्न ठाउँमा २ सय ६७ वटा गाडीलाई होल्ड गरिएको हो । पास नभएका र अत्यावश्यक सामग्री बाहेकका गाडीलाई प्रहरीले होल्डमा राख्दै आएको छ । यसरी होल्डमा राखिएका गाडीलाई एक–दुई सय रुपैयाँ जरिवाना तिराएर बेलुका छोड्ने गरिएको छ ।