back
hangrilabank
himalayanlife
stc

मलेशियाबाट कामदारको २४ शव नेपाल ल्याइयो

काठमाडौं। राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीको २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको छ ।

आज निगमको वाइडबडी ए ३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट वैदेशिक रोजगारीमा गएर फर्कन लागेका नेपाली श्रमिकसहित एकैपटक कोरोना बाहेक अन्य कारणले मृत्युु भएका कामदारका २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमले जानकारी दिएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको वोर्डले जनाएको छ ।

निगमले मलेशियामा मृत्यु भएका नेपालीको शव नेपाल ल्याइएको जानकारी दिँदै भनेको छ( ‘विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइको शव देशलाई त तथ्यांकमा मात्र सीमित हुने होला तर मृत व्यक्ति तथा उनका आश्रित परिवारको भने सर्वस्व गुमेको छ । उनका सपना टुटेका छन् ।’

यसैबीच सरकारले चीनबाट खरिद गरिएको कोभिडविरुद्धको भेरोसेल खोप लिन निगमको अन्तिम उडानको जहाज आइतबार चीनको बेइजिङ जाने उडान तालिका रहेको निगमले जनाएको छ ।
निगमले पछिल्लो पटक तीन उडानमार्फत चीनबाट खोप नेपाल ल्याएको छ ।