back
hangrilabank
himalayanlife
stc

महानिर्देशक हुन डा. विच्छाको चलखेल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई साताको सरकार सञ्चालनमा राम्रो संकेत दिएर आफ्नो छवि सुधार गर्दैछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका माफियाको प्रभावमा परेका कर्मचारीहरू भने मालदार ठाँउमा सरूवा हुन चलखेल गर्न थालिसकेका छन। प्रधानमन्त्री देउवाले शैक्षिक ब्यावसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्ति गरिसकेका छन् ।

श्रेष्ठ राज्यमन्त्री नियुक्त भएपछि कांग्रेस निकट कर्मचारीहरू स्वास्थ्य अन्तर्गतका महानिर्देशकदेखि विभिन्न निकायमा सरुवा गर्न दबाब दिन थालेका छन् ।

राज्यमन्त्री श्रेष्ठ र सचिव लक्ष्मण अर्याललाई दवाव दिदै अवकाश हुन तीन महिनामात्र बाँकी भएका डा. आर.पी. विच्छालाई स्वास्थ्य सेवा विभागको महानिर्देकश बनाउन दबाब दिएका छन् । धेरै कनिष्ट र अनियमिततामा पटक–पटक मुछिएका डा. बिच्छा २०७८ कात्तिक ६ गते अवकाश हुँदैछन् ।

स्वास्थ्य सेवा विभागमा १२ औं तहका बरिष्ठ डाक्टर दिपेन्द्ररमण सिंह महानिर्देशक छन् । डा. बिच्छा ११ औं तहका हुन।

११ ओैं तहका डाक्टरमा पनि उनी भन्दा २० औं जना बरियतामा माथि छन। डा. बिच्छा कान्ति बाल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हुन् । कोरोनाका बिरामीको उपचारका लागि कान्ति बाल अस्पतालमा अक्सिजन प्लान्ट राख्नका लागि काठमाडौं महानगरपालिकाले अनुदान दिएको २ करोड रुपैयाँमा डा. बिच्छाले २० प्रतिशत घुस मागेपछि अहिलेसम्म अक्सिजन प्लान्ट जडान हुन सकेको छैन ।

अक्सिजन प्लान्ट राख्नका लागि ठेक्का पाएका डाइग्नोकेम इन्टरनेशनलका संचालक विज्ञान शर्माले ५ प्रतिशतमात्र मुनाफा राखी कम दरमा बोलपत्र पेश गरेकाले २० प्रतिशत कमिसन दिन नसक्ने भनेपछि उनले जडान नै गर्न दिएका छैनन् ।

काठमाडौं महानगरपालिका र कान्ति बाल अस्पतालबीच अक्सिजन प्लान्ट राख्नका लागि मेयर विद्या सुन्दर शाक्यले नगरसभाबाट दुई करोड विनियोजन गर्ने निर्णय गरेका थिए ।

२०७६ कात्तिक २२ मा अक्सिजन प्लान्ट राख्नका लागि कान्ति बाल अस्पताललाई २ करोड रुपैयाँ अनुदान दिने सम्झौता भएको थियो । तर २०७८ साउनसम्म पनि अक्सिजन प्लान्ट जडान हुनसकेको छैन ।

निर्देशक डा. बिच्छाले घुस मागेकै कारण अक्सिजन प्लान्ट जडान हुन नसकेको बताइन्छ । कान्ति बाल अस्पतालका सूचना अधिकारी डा. रमेशनरसिंह केसीले अक्सिजन प्लान्ट अझै जडान हुन नसकेको बताएका छन ।

बाल स्वास्थ्य महाशाखाको प्रमुख हुँदा पनि भ्याक्सिन खरिदमा अनियमितता गरेको आरोप डा. बिच्छामाथि लागेको थियो । परिवार स्वास्थ्य महाशाखाको प्रमुख हुँदा कर्मचारीको भ्रमणदेखि विभिन्न भत्ता (टीएडीए) को भुक्तानी दिंदा घुुस मागेपछि कार्यालय सहयोगीदेखि चिकित्सकसम्मले तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापालाई मन्त्रालयमै डेलिगेसन गई भेटेर आपत्ति जनाएका थिए।

त्यसपछि मन्त्री थापाले उनलाई हटाएका थिए । डा. शिला अर्याल सहितको डेलिगेसनले तत्कालीन मन्त्री थापालाई कि सबै कर्मचारीलाई सरुवा गर्न कि त बिच्छालाई हटाउन माग गरेका थिए ।

कर्मचारीको डेलिगेसन आएपछि बिच्छालाई हटाएर समस्या समाधान गरिएको थियो । तिनै डा. विच्छा अहिले तीन महिनाका लागि भएपनि महानिर्देशक बन्न दौडधुपमा लागेका छन्।