कांग्रेस क्रियाशिल छानवीन समितिमा लुट, २ महिनामा ६० लाखको खाना खर्च
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता सम्बन्धी विवादहरुलाई टुग्याउनका लागि गठित कार्यदलले काम पूरा गर्न नसकेर मंगलबार अपुरो प्रतिवेदन तयार गर्यो । उक्त प्रतिवेदन अनुसार अझै चार जिल्लाको क्रियाशील सदस्यता विवाद कायमै रहेको छ ।
दिएको जिम्मेवारी पूरा गर्न नसकेको आरोप लागेको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकलाई भने प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले फेरि अर्को जिम्मेवारी दिइसकेका छन् ।
लेखकलाई सरकार सञ्चालनका लागि बनेको सत्तापक्षीय दलहरुको कार्यदल सदस्यमा जिम्मेवारी तोकिएको छ । एकतिरको काम अधुरै छोडेका लेखकलाई अर्कोतर्फको सरकार सञ्चालन कार्यदलको जिम्मा दिइएको छ ।
पार्टीभित्र सुरुदेखि जिम्मेवारी विहीन बनेका अन्य योग्य नेताहरु हुँदाहुँदै पनि देउवाले लेखकलाई अघि सार्दा उनको समूहभित्र नै आलोचना भइरहेको छ । क्रियाशील सदस्यता छानबिन समितिको कार्यालय लेखकले आफ्नो भाइ दिपक लेखक म्यानेजर रहेको तिलगंगास्थित नेपाल भारतमैत्री धर्मशालामा राखिएको छ ।
काठमाडौंका पाँच तारे होटल जत्तिकै महँगो रहेको उक्त धर्मशालामा कार्यालय छ भने त्यही खाना, चिया नास्तादेखि बसोबासको पनि सुविधा रहेको छ ।
उक्त धर्मशालाका म्यानेजर दिपक लेखक समितिका संयोजक रहेका रमेशका आफ्नै भाइ हुन् । उनले भाइलाई कमिसन आउने भएकोले पनि समिति कार्यालय उक्त धर्मशालामा नै स्थापना गरेको आरोप लागेको छ ।
समितिका अन्य सदस्यहरुले बैठक पार्टी कार्यालयमा बस्नुपर्ने र पार्टीको खर्च कम हुने बताए पनि लेखककै जोडबलमा समितिको बैठक धर्मशालामा बसिरहेको छ । धर्मशालाकै एक अधिकारीका अनुसार हालसम्मको खाना खर्च मात्रै ६० लाख उठेको बताइएको छ ।
उक्त रकम भुक्तान गर्न बाँकी रहेको बताइएको छ । यसअघि लेखकले समितिका लागि आवश्यक पर्ने सामग्री खरिद गर्न ४० लाख पेस्की माग गरेका थिए । त्यसअघि नै पार्टीले पेस्कीस्वरुप समितिलाई १५ लाख रुपैयाँ बुझाएको थियो ।
एक करोडभन्दा बढी खर्च, काम अधुरै
समितिले क्रियाशील सदयस्ता छानबिनकै नाममा १ करोड २० लाखभन्दा बढी खर्च गरे पनि काम भने पूरा गर्न सकेको छैन । लेखक संयोजक रहेको समितिले काम गर्न नसकेपछि क्रियाशील सदस्यता सम्बन्धी विवाद फेरि छानबिन समितिमै पुगेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले छानबिन समितिलाई थप विषय मिलाउने गरी जिम्मेवारी दिएको छ ।
नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले हिजोमात्रै पार्टी समक्ष आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए ।
करिब ८ लाख क्रियाशील सदस्य रहेको कांग्रेसको यो विवाद टुंग्याउन पटक पटक म्याद थप गर्दा पनि ४ जिल्लामा क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन । करिव ९० वटा वडा समितिको विवाद पनि टुंग्याउन सकेको छैन।
नयाँ सदस्यता विवाद टुंग्याउन नसकेर पुराना क्रियाशिल सदस्यबाटै वडा अधिवेशन गर्ने अपुरो र विवादास्पद प्रतिवेदन दिएर झारा टार्ने काम गरेको छ।
देउवाले विश्वास गरेका पात्र लेखकले नै देउवालाई नै आलोचित हुने गरि काम गरिरहँदा पनि देउवाले फेरि उनै लेखकलाई जिम्मेवारी दिने गरेका छन् ।
जसका कारण पार्टीभित्रै सभापति देउवाको आलोचना हुने गरेको छ । तर, पछिल्लो समय निकै संवदेनशील समय भएकालेले योग्य र काम गर्नसक्ने व्यक्तिहरुलाई सल्लाहकारमा नियुक्त गरेर अघि बढ्न देउवालाई सुझाव दिनेहरुको संख्या पनि बढेको छ।
वि.सं.२०७८ साउन १४ २०:३८