जसपाको संगठन सुदृढीकरण र जनजागरण अभियान

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले चार महिने ‘संगठन सुदृढीकरण र जनजागरण अभियान’ चलाउने निर्णय गरेको छ । जसपाको बिहीबार बसेको कार्यकारिणी समिति बैठकले अभियान सञ्चालन गर्ने निर्णय गर्दै कार्यकारिणी समिति सदस्यहरूको अस्थायी कार्यविभाजनसमेत गरेको छ ।
बैठकले पार्टीको केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ । समितिको अध्यक्षमा विष्णुहरि शर्मालाई नियुक्त गरिएको छ । त्यस्तै बैठकले पार्टीको अनुशासन आयोग बनाउँदै संयोजकको जिम्मेवारी नरसिंह चौधरीलाई दिने निर्णय गरेको छ ।
पार्टीभित्र देखिएको अनुशासनबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति बनाउने निर्णय पनि बैठकले गरेको जनाइएको छ । नवराज सुवेदीको संयोजकत्वमा गठित समितिमा गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोव र सुशीला श्रेष्ठ रहेका छन् ।
वि.सं.२०७८ साउन १४ २०:४५