back
stc
prabhu insurance

काठमाडौं कांग्रेसमा बानियाँ, श्रेष्ठ, दवाडी भिडने !

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। काठमाडौंमा संस्थापन पक्ष (शेरबहादुर देउवा), संस्थापन इतरका नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य भीमसेनदास प्रधान समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

उपत्यकामा प्रकाशमान सिंहको गृहजिल्ला भएकै कारण पनि उनको समूह तुलानात्मक रुपमा बलियो छ । उनीपक्षीय कृष्ण सबुज बानियाँ फेरि पनि एक पटक सभापतिको उम्मेदवार बन्ने भएका छन्। बानियाँ दोस्रो पटक सभापति बन्नका लागि अघि सरेका छन्।

प्रकाशमान सिंह अहिले संस्थापक इतर नजिक छन् । सिंहको पक्षबाट बानियाँ एकल उम्मेद्वार छन्। सभापतिको उम्मेरवारमा देउवा पक्षबाट पुर्व जिल्ला सचिव तथा वरिष्ठ अधिवक्ता दामोदर खड्का, क्षेत्र नं.२ का क्षेत्रीय सभापति उपेन्द्र कार्की र क्षेत्र नं.४ का क्षेत्रीय सभापति राजु श्रेष्ठको नाम चर्चामा छ।

देउवा पक्षबाट खडका,कार्की र श्रेष्ठ तिनै जना बलियो उम्मेदवारका रुपमा खडा भएका छन्। तिनै जना सभापतिका आकांक्षीहरूले आफ्नो प्रचार प्रसारलाई पनि तिव्रता दिएका छन्। देशको राजधानी भएकाकारण पनि काठमाडौं जिल्लाको अधिवेशन प्रति केन्द्रको चासो बढि नै देखिन्छ ।

काठमाडौंमा सभापतिको होडमा जिल्ला सभापतिलाई सघाउन कृष्ण सिटौला पक्षबाट नेता भीमसेन दास प्रधानले पनि कम्मर कसेर लागेका छन् । उनले पनि आफ्नो समूह खडा गरेका छन्।

प्रधान पक्षबाट गौरी दवाडी र हरिहर अधिकारीको नाम अधि सारिएको छ। प्रधान पक्ष जित्ने अवस्थामा छैन, त्यसैले संस्थापन देउवा पक्षसँग उपसभापति, सचिवमा वार्गेनिङ गरेर सहयोग गर्ने पक्षमा छ।

भीमसेनदास जिल्ला सभापति हुँदा दवाडी उपसभापति रहेका थिए। महासमिति सदस्य रहेका हरिहर अधिकारी गत निर्वाचनमा टोखा नगरपालिकाको मेयरका प्रत्यासी थिए।

यसअघिको महाधिवेशनमा सुबुज बाँनियालाई देउवा पक्षले सहयोग गरेको थियो । तर यसपटक भने त्यो सम्भावना कम देखिन्छ । त्यसैले यहाँ भीमसेन दास प्रधान र प्रकाशमान सिंहको पुरानो भीडन्तमा जोडिन देउवा पक्षिय उम्मेदवार पनि पुग्ने देखिन्छन् ।

नेता प्रकाशमान र भीमसेन दास प्रधान कांग्रेस भित्रका पुराना प्रतिद्वन्दी हुन् । त्यसैले त संस्थापन इतरका दुई नेताको भीडन्तमा एक अर्काले काठमाडौंमा सहयोग गर्दैनन् । यसपटक देउवा पक्षलाई मिलाएर जसले लैजान सक्छ उही पक्षले जिल्ला नेतृत्व जित्ने सम्भावना देखिन्छ ।

अहिलेसम्म प्रकाशमान पक्ष बलियो भएपनि बानियाले ५ वर्षसम्म उल्लेखनीय कुनै काम नगरेकाले नेता, कार्यकर्ता असन्तुष्ट छन। चाक्सिवारी फन्को लगाएर प्रकाशमान रिझाउने प्रवृतिले बानियाँ नेता, कार्यकर्ताको मनमा भिज्न सकेका छैनन।

तर प्रकाशमान भने बानियाँसँग सन्तुष्ट रहेका छन। उता देउवासँग नजिक रहेकाले काठमाडौंमा नेवार समुदायको भोट तान्न राजु श्रेष्ठलाई उम्मेदवारमा उठाउन सक्ने सम्भावना बढेर गएको छ।

भीमसेनदासले संसदीय दलको नेतामा सिंहलाई मत नदिएर देउवालाई दिएका थिए। केन्द्रको धेरै चासो रहेको काठमाडौं कांग्रेसमा संस्थापन इतरका प्रधानलाई देउवा पक्षलाई सघाएको खण्डमा प्रकाशमान प्यानलले दुई पक्षसँग भीड्नुपर्ने हुन्छ । प्रधान पक्षले जसलाई सहयोग गर्छ काठमाडौंमा उसैले सभापतिमा जित्न सक्ने देखिन्छ ।