प्रदेश सभाका १६ स्थानमा निर्वाचनको गृहकार्य

काठमाडौँ। प्रदेश सभामा सात प्रदेशका १६ सांसदको पद रिक्त भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश–१ मा एक, प्रदेश–२ मा तीन, बागमती प्रदेशमा एक, गण्डकी प्रदेशमा एक, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा पाँच र सुदूरपश्चिम प्रदेशमा एक गरी १६ सांसदको पद रिक्त भएको छ । रिक्त भएकामध्ये आठ जनाले दल त्याग गरेको, दुई जनाले राजीनामा दिएको, पाँच जनालाई सम्बन्धित दलबाट निष्काशन गरिएको छ भने एकजनाको मृत्यु भएको छ ।
रिक्त हुने आठ सांसद नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका छन् । सात जना नेकपा (एमाले) बाट निर्वाचित भएका छन् । एकजना राष्ट्रिय जनमोर्चा नेपालबाट निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश–१ मा (माओवादी केन्द्र) बाट ताप्लेजुङ १ (२) बाट निर्वाचित टंक आङ्बुहाङ लिम्बुले गत चैत २६ गते दल त्याग गरेपछि रिक्त भएको छ ।
प्रदेश–२ मा माओवादी केन्द्रबाटै धनुषा १ (२) बाट निर्वाचित रामचन्द्र मण्डल, रौतहट ३ (२) बाट निर्वाचित कुन्दनप्रसाद कुशवाहा, बारा ३ (१) बाट निर्वाचित ज्वालाकुमारी साहले गत चैत ३० गते दल त्याग गरेपछि उक्त स्थान रिक्त भएको छ ।
बागमती प्रदेशमा नेकपा एमालेबाट दोलखा १ (२) बाट निर्वाचित पशुपति चौलागाईको गत बैशाख २८ गते कोरोनाले गर्दा मृत्यु भएपछि रिक्त भएको छ । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चा नेपालबाट बागलुङ १ (२) बाट निर्वाचित कृष्ण थापालाई गत जेठ २८ गते पार्टीले निष्काशन गरेपछि रिक्त भएको छ ।
लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट रुपन्देही १ (२) बाट निर्वाचित दधिराम न्यौपाने, गुल्मी २ (२) बाट निर्वाचित दिनेश पन्थीले गत चैत २४ गते दल त्याग गरेपछि रिक्त भएको छ । त्यस्तै लुम्बिनी प्रदेशमै नेकपा (एमाले) बाटै कपिलवस्तु २ (१) बाट निर्वाचित दृगनारायण पाण्डेले गत वैशाख १९ गते र दाङ २ (२) बाट निर्वाचित अमरबहादुर डाँगीले गत बैशाख २२ गते राजीनामा दिएपछि रिक्त भएको छ ।
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट दैलेख १ (१) बाट निर्वाचित धर्मराज रेग्मीले गत २०७७ चैत ३० गते दल त्याग गरेपछि रिक्त भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट अछाम १ (२) बाट माओवादी केन्द्रबाट निर्वाचित झपटबहादुर बोहोराले गत बैशाख ६ गते दल त्याग गरेपछि रिक्त भएको छ ।
कर्णाली प्रदेशमा एमालेबाट निर्वाचित प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले साउन १८ मा सदर गरेपछि रिक्त भएका छन् । त्यो सूची ततप्रदेश सभाबाट निर्वाचन आयोगमा पुगिसकेको छैन। पुगेपछि निर्वाचन आयोग रिक्त स्थानमा उप निर्वाचन गराउनेछ।
अहिलेसम्म निर्वाचन आयोगलाई १२ स्थानमा प्रदेश सभा सदस्य रिक्त भएको जानकारी आएको छ । चार जनाको केही दिन अघिमात्रै सर्वोच्च अदालतले पार्टीले गरेको कारबाहीलाई सदर गरेको खबरहरू सार्वजनिक भएका छन्। कर्णाली प्रदेशका प्रकाश ज्वाला सल्यान १ (१) बाट, कुर्मराज शाही कालिकोट १ (१) नन्द सिंह बुढा डोल्पा १ (१) र अम्मर बहादुर थापा दैलेख १ (२) बाट निर्वाचित भएका थिए । उनीहरूलाई ह्वीप उल्लंघन गरेको आरोपमा पार्टीले कारबाही गरेको थियो । त्यसविरुद्ध सर्वोच्च गएका उनीहरूको पक्षमा सर्वोच्चले पनि फैसला गरिदिएन ।
लुम्बिनीमा जसपा तीन सांसद पार्टी कारबाही विरुद्ध सर्वोच्चमा
यसैबीच लुम्बिनी प्रदेशसभाका तीन सांसदलाई पार्टीले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । त्यो कारबाहीको जानकारी प्रदेश सभा सचिवालयमा गराएपछि प्रदेश सभा सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे पदमुक्त भएको जनाएको छ ।
जसपा केन्द्रीय कार्यालयको निर्णय अनुसार तीनै जना पद मुक्त भएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनीहरूले पार्टी कारबाहीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन् । उनीहरूको मुद्दाको सर्वोच्चमा आज साउन २१ गते बिहीबार पेसी तोकिएको छ ।
संविधानको धारा १७६ (८) मा ‘प्रदेश सभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ती गरिने,’ भन्ने उल्लेख छ ।
प्रदेश सभा निर्वाचन हुने समय आउन अझै एक वर्षभन्दा बढी समय रहेकाले उपनिर्वाचन गर्नुपर्ने हुन्छ । यसले राज्यलाई निर्वाचनको व्यवभार थप्ने निश्चित देखिन्छ ।
वि.सं.२०७८ साउन २० २१:१३