back
prabhu insurance
himalayanlife

कांग्रेसको वैधानिकता संकटमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म नगर्ने संस्थापन पक्षले चालबाजी गरेको भन्दै भदौ २३ पछि हालकै केन्द्रीय कार्यसमितिले वैधानिकता पाउने निष्कर्ष निकालेको बताएका छन्।

पार्टीका पूर्वउपसभापति तथा केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारीमा साउन २१ गते बिहीबार दिउँसो भएको संस्थापनइतर समूहका जिल्ला सभापतिहरुको अनौपचारिक सुझाव र पदाधिकारीबीचको छलफलपछि यस्तो निष्कर्ष निकालेको पार्टी स्रोतले बताएको छ।

आगामी भदौं २३ गते भित्र पार्टीको १४ ओैं महाधिवेशन हुन नसके पार्टीको वैधानिकता संकटमा पर्ने स्थिति रहेकाले महाधिवेशन समयमै गराउन सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता पौडेल समूहले ध्यानाकर्षण समेत गराउने निर्णय गरेको छ ।

बैठकले २३ भदौभित्र महाधिवेशन नगराए हालकै केन्द्रीय कार्यसमितिलाई वैधानिकता दिन सकिने वरिष्ठ नेता पौडेलले बताएका छन्।

वरिष्ठ नेता पौडेलले संवैधानिक रुपमा पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने व्यवस्था भएकाले आगामी भदौं २३ गते पछि पार्टीको वडादेखि केन्द्रीय तहसम्मको कार्यसमितिको वैधानिकता नरहने स्पष्ट गरेका छन् ।

छलफलपछि नेता पौडेलले पत्रकारहरुसँग कुरा गर्दै भनेका छन्( पार्टी वैधानिकता जोगाउन विशेष महाधिवेशनको प्रस्ताव गरिनेछ। अझै पनि समय छ, प्रक्रिया पुर्याएर महाधिवेशन गर्न समय नभएपनि वैधानिकता जोगाउन विशेष अधिवेशन गर्न सकिन्छ भनेर हामीले प्रस्ताव गरेका छौं। छलफलमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल र बलबहादुर केसी सहभागी थिए।

कांग्रेसमा क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन अन्योलमा परेको छ। भदौं १६–१९ गतेसम्म गर्नुपर्ने केन्द्रीय महाधिवेशन क्रियाशील सदस्यता विवाद नटुंगिदा अनिश्चित भएको छ । महाधिवेशन सुनिश्चित गर्न दुई दिनभित्र क्रियाशील सदस्यताको विवाद टुंग्याउनुपर्ने नेता पौडेलले वताएका छन्।

महाधिवेशन सुनिश्चित गर्न पार्टी नेतृत्वले दुई दिनभित्र कार्यतालिका र निर्देशिका निर्वाचन समितिलाई क्रियाशील सदस्यताको विवरण दिइनुपर्ने पौडेल समूहको निर्णय छ। निर्देशिका र क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिले प्राप्त गरेमा प्रदेश समितिका लागि निर्वाचन हुन सक्छ ।

त्यसैले दुई दिनभित्र यो विषय टुंगो लगाउनुपर्छ भन्ने पौडेल पक्षको माग छ। पौडेलले समयमा महाधिवेशन नगराए भदौबाट देउवा सभापति नहुने चेतावनी पनि दिइसकेका छन्। पार्टी सभापति शेर बहादुर देउवा भने क्रियाशिल सदस्यता विवाद र कोरोना महामारीको कारण देखाएर केही महिना महाधिवेशन सार्ने पक्षमा देखिएका छन र अनेकौं बहाना गरिरहेको आरोप लाग्दै आएको छ।