बिपि स्वास्थ्य विज्ञानका उपकुलपति रौनियारलाई सफाई दिने तयारी भष्टहरू अदालतबाट एकपछि अर्को छुटदै
काठमाडौं । आठ लाख रुपैयाँ घुस रकमसहित रंगेपक्राउ परेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार (आर.के.) रौनियार ठूलो रकमको सेटिङ मिलाएर अदालतबनट सफाई पाउने तयारीमा छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले उनलाई गत ०७६ साल असार २५ गते प्रतिष्ठानकै सरकारी निवासबाट घुस रकमसहित पक्राउ गरेको थियो ।
विशेष अदालतमा सेटिङ नमिल्दा उनको मुद्दाको पेशी धेरैपटक सरेको सर्यै थियो । प्रतिष्ठानमा हालका उपकुलपति डा. ज्ञानेन्द्र गिरी लगायतका पदाधिकारीहरु बिरुद्ध आन्दोलन भैरहेका बेला डा। रौनियारको मुद्दालाई आजै टुङग्याउने गरी विशेष अदालतमा सेटिङ मिलाईएको छ ।
सेटिङ नमिल्दासम्म धेरैपटक पेशीमा चढ्दा पनि उनकै कानुन व्यवसायीद्धारा मुद्दा पेशीबाट हटाइएको सो मुद्दामा एक ठाउँमा एक करोड पचास लाख र अर्को ठाउँमा २५ लाख दिएर सेटिङ मिलाइएको दावी गरिएको छ । अदालतमा सेटिङ मिलाउन उनका दाई गौरीशंकर रौनियारले दौडधुप गरेका छन् ।
उपकुलपति रौनियार र उनका भतिज प्रतिष्ठानका मेडिकल हाउस अफिसर डा. रामहरि रौनियारविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीविरुद्ध १३ वर्षसम्म कैद र एक करोड २८ लाख जरिवाना सजायको दावी गरिएको छ ।
भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा १ (झ) अनुसार एक करोडभन्दा बढी घुस लिनेलाई आठ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
त्यस्तै विशिष्ट श्रेणीको कर्मचारी भएकाले सोही ऐनअनुसार उनी विरुद्ध थप तीन वर्ष कैद माग गरिएको छ । रामहरि विरुद्ध डेढ वर्षदेखि साढे दुई वर्ष कैद र आठ लाख रुपैयाँ जरिवाना सजाय माग गरिएको छ ।
त्यसअघि पनि उनले एकै व्यक्तिबाट एक करोड २० लाख रुपैयाँ घुस लिएको रहस्य खुलेको छ । जसमध्ये एक करोड दुई लाख रुपैयाँ उनले आफ्ना चालक दिवाकर कार्की मार्फत लिएको अख्तियारले जनाएको छ ।
अख्तियारले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको थियो । प्रतिष्ठानको भवन निर्माणको भुक्तानीका लागि उनले ठेकेदारसँग घुस लिएका थिए । घुस लिएर डा।रौनियारले आफ्नै भतिज डा। रामहरि रौनियारलाई राख्न दिएका थिए ।
बिगोको दृष्टिकोणले घुस लिएको आरोपमा अख्तियारले चलाएको यो सबैभन्दा ठूलो मुद्दा हो । यसअघि अख्तियारकै पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध ७८ लाख रुपैयाँ बिगोको मुद्दा चलाइएको थियो ।
यो मुद्दामा आठ लाख रुपैयाँ मात्र बरामद भए पनि अन्य तथ्यले रौनियारले एक करोड २८ लाख रुपैयाँ नै लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको त्यसवेला आयोगले जनाएको थियो ।
प्रतिष्ठानले फार्मेसी भवन बनाउन करिब १२ करोड तथा होस्टेल भवन बनाउन सात करोडको ठेक्का लगाएको थियो । दुवै ठेक्का श्याम सुन्दर निर्माण प्रा.लि.ले पाएको थियो । त्यो कम्पनीले पनि गिना कन्ट्रक्सनलाई दुवै भवन निर्माणको जिम्मेवारी दिएको थियो ।
घट्नाका बेला दुवै भवन निर्माणको करिब आधा कम सकिएको थियो । त्यतिबेला फार्मेसी भवन निर्माणको १४ मध्ये पाँच करोड र होस्टेल निर्माणको सात मध्ये चार करोड रुपैयाँ भुक्तानी भइसकेको थियो ।
यसरी करिब नौ करोड भुक्तानीका लागि आफूले एक करोड २८ लाख रुपैयाँ उपकुलपतिलाई बुझाउनुपरेको गिना निर्माण प्रा।लि।का प्रोजेक्ट म्यानेजर सुशीलकुमार झाले अख्तियारमा दिएको निवेदनमा उल्लेख गरेका छन् । उपकुलपतिले हरेक ठेक्कामा करिब १० प्रतिशत कमिशनको रेट नै तोकेर पैसा लिने गरेको आयोगको अनुसन्धानमा खुलेको थियो ।
१४ लाख रुपैयाँ आफैँले रौनियारलाई लगेर बुझाएको र एक करोड दुई लाख रुपैयाँ चालक दिवाकर कार्कीमार्फत दिएको ठेकेदार झाले बताएका छन् ।
थप आठ लाख बुझाएलगत्तै रकम बरामद भएको थियो । चालक कार्कीले आफूले पटक–पटक झासँग पैसा लिएर रौनियारलाई बुझाएको स्वीकार गरेका छन् ।
घुस लेनदेनमा संलग्न भए पनि अख्तियारलाई अनुसन्धानमा सहयोग गरेकाले उनलाई सजायमा पूर्ण छुट दिई साक्षीका रूपमा प्रस्तुत गरिएको छ ।
चौथो रनिङ बिल भुक्तानीका लागि कम्पनीले गत जेठमा ८७ लाख दुई सय ७२ रुपैयाँको बिल पेस गरेको थियो । रनिङ बिल स्वीकृत गर्न सम्झौता अनुसारको गुणस्तरीय काम भए–नभएको मूल्यांकन हुनुपर्छ ।
सम्झौता अनुसार नै काम गरेको इन्जिनियरिङ प्रतिवेदनका आधारमा गत १० असारमा कम्पनीको नाममा चेक काटियो । तर, चेक ठेकदारको होइन उपकुलपतिको झोलामा पुग्यो । भुक्तानीको १० प्रतिशत रकम नदिएसम्म भुक्तानी नदिने भन्दै उनले बार्गेनिङ सुरु गरेका थिए।
गिना निर्माण प्रा.लि.का प्रोजेक्ट म्यानेजर झा गत २६ असारमा झोलामा आठ लाख घुस लिएर रौनियारको कार्यकक्षमा प्रवेश गरे ।
खल्तीमा मोबाइलको भिडियो अन गरेर आर्थिक डिलबारे कुरा गर्न थाले । रौनियारले त्यो थाहा पाएपछि मोबाइल खोसेर स्विचअफ गरेका थिए ।
त्यसपछि मात्र उनले पैसा लिएर भजितलाई राख्न दिएका थिए । झाले पहिले नै अख्तियारलाई खबर गरेर सो पैसा दिएका थिए । त्यसैले केही समयमै आयोगको टोली पुगेर पैसा बरामद गरी उनीहरूलाई रंगेहात पक्राउ गरेको थियो ।
झाले त्यसअघि भएका पैसा लेनेदनका अडियो र भिडियोसमेत राखेका थिए । आयोगको अभियोगपत्रमा भनिएको छ, ‘निवेदकले उपकुलपतिसँग उक्त चेक बुझिलिएको देखिएबाट समेत लेखा शाखाले नियमानुसार ठेकदारलाई भुक्तानी दिनुपर्ने चेक उपकुलपति राजकुमार रौनियारले गलत मनसायले आफ्नो साथमा राखी रिसवत वापतको कमिशन रकम यकिन भएपछि मात्र ठेकदारलाई चेक दिने गरेको तथ्य निर्विवाद रूपमा स्थापित भइआएको छ ।’
अनुसन्धानमा सहयोग गरेकाले ठेकेदार झालाई भने अख्तियारले साक्षीका रूपमा मात्र पेस गरेको थियो । अदालतमा गएर बयान फेरेमा मात्र उनीविरुद्ध मुद्दा चल्ने कानुनी प्रावधान रहेको छ ।
वि.सं.२०७८ साउन २७ १२:५६


















