back
prabhu insurance
himalayanlife

एडिबिमा भान्जे ज्वाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अर्थ मन्त्री जनार्दन शर्मा नाताबादमा चुर्लुम्म डुव्न थालेका छन् । भाइभतिजा र ज्वाईचेलाको नियुक्ति गर्न थालेका छन् ।

अर्थ मन्त्रालयको सचिवमा पूर्वप्रधानमन्त्री पुष्पमकमल दाहाल ‘प्रचण्ड’का सल्लाहकार रहेका प्रा.डा. श्रीराम पौडेलका ज्वाईलाई लगेको एक साता नवित्दै अर्थ मन्त्री जनार्दन शर्माले एशियाली विकास बैंकको सल्लाहकारमा मन्त्रालयका क्षमतावान सहसचिवलाई नपठाइ आफ्ना भान्जे ज्वाई शाखा अधिकृत भीमकान्त न्यौपानेलाई पठाउने निर्णय गरेका छन् ।

मन्त्री शर्माले लाजै पचाएर विगतमा मुख्यसचिव,सचिव र सहसचिव पठाउने ठाउमा भान्जे ज्वाई शाखा अधिकृत न्यौपानेलाई मासिक १८ लाख तलव सुविधा पाउने एडीबीको सल्लाहकारमा पठाउने निर्णय गरेका छन् ।

ओली सरकारले पनि सहसचिव पठाउने ठाउँमा डेढ महिनाअघि तात्कालिन मन्त्री विष्णु प्रसाद पौडेलका स्वकिय सचिव उपसचिव रमेश अर्याललाई एडीबीको सल्लाहकारमा पठाउने निर्णय गरेको थियो ।

तर शर्मा मन्त्री हुनासाथ उक्त निर्णय बदर गरि मन्त्री शर्माका ज्वाई न्यौपानेलाई पठाउने निर्णय गरिएको छ ।

यसअघि मुख्यसचिव डा. सोमलाल सुवेदी, सचिव रामशरण पुडासैनीले एडीबीमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए । आफ्ना भाञ्जी ज्वाईका लागि शर्माले देशको प्रतिष्ठा नै गिराएका छन् ।

अर्थ मन्त्रालयका कनिष्ट शाखा अधिकृत भान्जीज्वाई योग्यताकै आधारमा फिलिपिन्सको राजधानी मनिलास्थित एडीबीको सल्लाहकारमा पठाएर कुशासन शुरू गरेका छन्।

उता विश्व बैंकको प्रतिनिधिमा भने अघिल्लो केपी शर्मा ओली सरकारले सहसचिव श्रीकृष्ण नेपाललाई पठाइएको थियो । सहसचिव नेपाल अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखामा लामो समय काम गरेका सहसचिव हुन् ।

उनलाई पनि तानेर मन्त्री शर्माले अर्का शाखा अधिकृतलाई विश्व बैंकमा पठाउने चर्चा अर्थ मन्त्रालयमा भैरहेको छ।

एडीबीको उक्त पद २ वर्षका लागि हुन्छ । मासिक तलवभत्ता करिव १८ लाख रुपैयाँ हुने उक्त पद आकर्षक मानिन्छ । यसअघि डा.युवराज खतिवडा अर्थमन्त्री हुँदा सहसचिव रामशरण पुडासैनीलाई पठाइएको थियो ।

पुडासैनीभन्दा अघि मुख्य सचिव सोमलाल सुवेदीलाई पठाइएको थियो । शाखा अधिकृत न्यौपाने विभिन्न आकर्षक भन्सारमा बसी केही महिना अगाडि अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

न्यौपाने तात्कालिक अर्थ सचिव शिशिरकुमार ढुंगानाका पीएका रुपमा कार्यरत थिए । सचिव ढुंगानाले अर्थमन्त्री शर्मालाई खुशी पार्न उनका भाञ्जी ज्वाईलाई मनिला पठाउने वातावरण बनाएका थिए ।

न्यौपानेलाई नियुक्ति गर्ने सबै तारतम्य ढुंगानाले मिलाएका थिए । नयाँ सचिव मधु मरासिनीले कनिष्ठ शाखा अधिकृत न्यौपानेलाई मनिलाका लागि चयन गराएका छन् । शाखा अधिकृत न्यौपानेले प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयबाट पनि सेटिङ मिलाएको चर्चा छ ।