एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) दर्ता नहुने, अर्कै नाम लिएर आउन आयोगको निर्देशन

काठमाडौं । नेकपा (एमाले)बाट विभाजित एमाले (समाजवादी) र जनता समाजवादी पार्टीबाट विभाजित जसपा (लोकतान्त्रिक) त्यही नाममा निर्वाचन आयोगमा दर्ता नहुने भएको छ ।
निर्वाचन आयोगले एमालेबाट विभाजित भएको प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरलाई अर्को नाम लिएर आउन मौखिक आग्रह गरेको बुझिन आएको छ ।
आयोगका एक पदाधिकारीले भनेका छन(उहाँहरुलाई आयोगको तर्फबाट यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न कानूनले पनि मिल्दैन र २०७७ फागुन २३ को सर्वोच्चको फैसलाले पनि मिल्दैन भनेर अर्को नाम लिएर आउन भनिसकेका छौं ।
नेकपा एमाले (समाजवादी) को साटो अर्को नाम लिएर आउन निर्वाचन आयोगले राजेन्द्र पाण्डेलाई सूचित गरिसकिएको छ ।
त्यस्तै जसपाका नेताहरुलाई पनि अर्को नाम ल्याउन भनिएको छ । आयोगमा यसअघि गत बुधवार दल दर्ताका लागि दिएको निवेदन यथावत रहे पनि संशोधित नियमावली अनुसार अनुसूची भर्नका लागि अनुसूची फारम आज भदौं ४ गते दुवै पक्षलाई उपलब्ध गराइने आयोग स्रोतले जनाएको छ । उनीहरु अनुसूची भरेपछि दल दर्ता प्रक्रिया अघि बढ्नेछ ।
वि.सं.२०७८ भदौ ४ १०:२८