back
prabhu insurance
himalayanlife

माधव नेपालको पार्टीमा ११५ जना केन्द्रीय सदस्य

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम फेरिएको छ। अब पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एकीकृत समाजवादी) हुने भएको छ।

सरकारले बुधबार राजनीतिक दल सम्वन्धी कानून परिवर्तन गर्न अध्यादेश जारी गरेकै दिन एमाले बरिष्ठ नेता माधव कुमार नेपाल सहितका नेकपा (एमाले)का नेताहरुले एमालेबाट अलग भएको घोषणा गर्दै निर्वाचन आयोगमा नेकपा एमाले (समाजबादी) नामको दल दर्ता गराएका थिए।

नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा भदौ २ गते बुधबार निवेदन दिए पनि निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने अडान लिएका थिए।

राजनीतिक दलसम्बन्धी अध्यादेश जारीपछि नियमावली अनुसार शुक्रबार नयाँ निवेदन दिंदा नाम पनि फेरिएको छ। अध्यादेश जारी भए पनि राजपत्रमा सूचना प्रकाशित भइ नसकेको कारण शुक्रबार पुन दल दर्ता गर्न नेपाल सहितका नेता निर्वाचन आयोग गएका थिए।

यसअघि बुधबार ९५ सदस्यीय केन्द्रीय कमिटीलाई आज शुक्रबार विस्तार गरेर ११५ पुर्याइएको छ। चुनाव चिन्ह भने अझै तय भएको छैन।