back
hangrilabank
himalayanlife
stc

कामपा १९ का वडाध्यक्ष श्रेष्ठको निधन: भोलि अन्तिम संस्कार हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठको आज निधन भएको छ । ६५ बर्षिय श्रेष्ठको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

उहाँको निधन अकल्पनीय भएको जनाउँदै काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले श्रेष्ठको मृत आत्माको चीर शान्ति र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

यसै गरी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, महानगरले ठूलो क्षति व्यहोर्नु परेको बताउँदै मृत आत्माको सायुज्य मुक्तिको कामना गर्नुभएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीकाअनुसार वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले भोलि १ दिन शोक विदा दिने भएको छ ।

उहाँको शव भोलि विहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडामा लगिने छ । विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपतिमा लगिने, वडा सदस्य चन्द्रमान डंगोलले जानकारी दिनुभयो ।

२०१३ साल पुस १४ गते जन्मिनु भएका श्रेष्ठलाई गएको डेढ महिना अघि खाना नलीमा क्यान्सर देखिएको थियो । यसको उपचारका क्रममा उहाँलाई दोस्रो चरणको किमो दिइसकिएको थियो ।

उहाँको उपचारमा सम्लग्न डा. राजेन्द्र बरालले भन्नुभयो, उहाँमा एक्कासी सुगर बढ्यो । रगत र नुन कम भयो । धेरै प्रकारका समस्या एक्कासी आएपछि हाम्रो वश चलेन ।

हिजो बेलुका साढे १० बजे उल्टी भएपछि उपचारका लागि उहाँलाई नर्भिक अस्पताल लगिएको थियो । उहाँको क्यान्सरको उपचार पनि यहीँ चलिरहेको थियो ।

आज दिउँसो करीव १ बजेसम्म राम्रै थियो । वडा सदस्य डंगोलले अवस्था सुनाउँदै भन्नुभयो, भोलि डिस्चार्ज हुनुपर्छ भन्ने कुराकानी पनि भएको थियो । त्यसपछि अलि असजिलो भएको देखिन थाल्यो । दिउँसो २ बजे शौचालय जानुभयो ।

त्यहाँबाट फर्किएपछि धेरै अप्ठ््यारो महसुस गरेर उहाँ आफैँले आसीयुमा उपचार गर्नुपर्छ भन्नुभयो । त्यसपछि आईसीयुमा राखियो । उपचार गर्दागर्दै साँझ करीव ७ बजे उहाँको निधन भयो । श्रेष्ठका श्रीमति ३ छोरी र १ छोरा हुनुहुन्छ ।