back
prabhu insurance
himalayanlife

 राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचतमा संलग्न ४ कम्पनीलाई अनुदान रकम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चार वटा कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ । बैंकले जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्तर्गत प्रगति टेक्सटाइल इन्डस्ट्रिज प्रा.लि.लाई १ करोड रुपैयाँ, प्रिमियर वायर्स प्रा.लि.लाई ९३ लाख ६० हजार ३२० रुपैयाँ, हुलास स्टिल इन्डस्ट्रिज प्रा.लि.लाई ६४ लाख ३७ हजार २३१ रुपैयाँ र सालीमार मेटल्स प्रा.लि.लाई ३२ लाख ८ हजार ८०० रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ ।

मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी ती कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदान–प्रदान तथा अनुदान रकमको चेक एक समारोहका बीच हस्तान्तरण गरेको हो ।

नेपालका लागि जर्मन राजदूतावासका विकास सहयोगका उपप्रमुख सिमोन म्याक्समिलन हिन्केले चेक हस्तान्तरण गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्र आदानप्रदान गर्दै अन्य उद्योगलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे ।

उनले हालसम्म २१ ओटा उद्योगहरुलाई ९ करोड ९२ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए ।

सरकार र जर्मन सरकार बीच सन २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले उक्त आयोजना कार्यान्वयनका लागि प्रोजेक्ट एक्सिक्युटिङ एजेन्सी (पीईए) का रुपमा सहायता सम्बन्धी कार्य गर्ने गरेको छ ।