एयरपोर्टबाट ३ किलो ३ सय ६० ग्राम सुन बरामद

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षतर्फको व्यागेज एरियाबाट करिब २ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरको ३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न गहना सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कैलाली बर्दगोरिया गाउँपालिका–१ घर भएका ३० वर्षीय बोधराज भण्डारी र धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका ४७ वर्षीय मुरारीराज अधिकारी रहेका छन् ।
श्री एयरलाइन्सको उडानद्वारा बिराटनगर जान लागेका उनीहरुलाई उक्त व्यागेज एरियामा खटिएको प्रहरीले एक्सरे मेशिनमा जाँच गर्ने क्रममा गत सोमवार बिहान भण्डारीको साथबाट २२ क्यारेटको ५ सय १५ ग्राम बराबरको सुनका बिभिन्न गहना र अधिकारीको साथबाट २४ क्यारेटको ५ सय ९७ ग्राम, २२ क्यारेटको १ हजार ५ सय ५२ ग्राम तथा पत्थर जडित १४ क्यारेटको ६ सय ९६ ग्राम सुनका विभिन्न गहना आवश्यक प्रकृया पूरा नगरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको थियो ।
उनीहरुबाट बरामद सुन सहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
वि.सं.२०७८ भदौ ३० १५:५७