back
stc
prabhu insurance

काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा

काठमाडौं । २०७२ सालको महाभुकम्पले भत्किएको बसन्तपुरको ऐतिहासिक काष्ठमण्डप मन्दिरको पुनःनिर्माण आगामी कार्तिक सम्म सक्ने लक्ष्यका साथ काम अघि बढिरहेको छ । अहिले ९६ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । अब चार प्रतिशत काम मात्र सम्पन्न बाँकी रहेको छ ।

काष्ठमण्डप पुनःनिर्माण समितिका अनुसार थोरै काम मात्र बाँकी रहेकाले कार्तिक सम्म सक्ने लक्ष्य रहेको छ । यसबीचमा कुनै अवरोध नआए छिटोमा दशैँअघि र ढिलोमा कार्तिक भित्रकाम सम्पन्न गर्ने गरि काम भैरहेको छ। अन्य निर्माण सम्पन्न गरी अहिले छानो छाउने काम भइरहेको छ ।

विसं २०७२ को वैशाख १२ गते आएको महाभूकम्पले काष्ठमण्डप पूर्णरुपमा क्षति भएको थियो । सातौँ शताब्दीमा निर्माण गरिएको यस सम्पदाको पुनःनिर्माणका लागि काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

पुनःनिर्माणको काम २०७५ को वैशाखदेखि सुरु गरिएको थियो । निर्माणका लागि कामपाले हालसम्ममा रु। ११ करोड ५० लाख दिइसकेको जनाइएको छ ।

पुनः निर्मित उक्त ऐतिहासिक सम्पदामा गत साउन दोस्रो साता मूल गजुर भित्रयाइएको थियो । काष्ठमण्डपसँगैको श्रीखण्डतरुमुल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्रयाइएको मन्दिरका पुननिर्माण समितिले जानकारी दिएको छ ।

गजुरलाई काष्ठमण्डपभित्र बिसाइ सकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा यज्ञमानपति बज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुले चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो । सालको काठबाट बनाइएको गजुरमा १३ चक्की रहेका छन् ।

उक्त सम्पदा पुनःनिर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक परेको अनुमान गरिएको थियो । प्रयोग हुने काठमध्ये केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको थियो ।