सदस्यता शुद्धीकरणका लागि पत्रकार महासंघको बहस सुरु
काठमाडौं। नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरणका लागि बहस सुरु भएको छ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले पत्रकार महासंघका गैरपत्रकारले प्रवेश पाएको भन्दै शुद्धीकरणका लागि अन्तर्क्रिया गरेको छ ।
काठमाडौंमा शुक्रबार भएको कार्यक्रममा प्रदेश अन्तर्गतका प्रतिष्ठान शाखा अध्यक्षहरुले सदस्यतामा कडाइ गर्न सुझाव दिएका छन् । राजनीतिक दलसम्बद्ध प्रेससँग सम्बन्धित संगठनका प्रतिनिधिहरुले पनि निर्ममतापूर्वक सदस्यता वितरणमा कडाइ गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले सदस्यता सिफारिस गर्ने शाखालाई चुनावको भोटमात्रै नसम्झन आग्रह गर्नुभयो । ‘शाखा अध्यक्षहरुले आफै फर्केर हेर्नुभयो भने शुद्धीकरणमा सहज हुन्छ,’ उहाँको भनाइ थियो ।
महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले भने सदस्यतामात्रै थप भएको भन्ने आरोपको खण्डन गर्नुभयो । पत्रकार महासंघमा एक कार्यकालमा मात्रै चार हजार निष्क्रिय पत्रकारको सदस्यता खारेज भएको भन्दै उहाँले चुनावकेन्द्रित सदस्यता वितरण भएको भने स्वीकार गर्नुभयो ।
महासंघका महासचिव रोशन पुरीले केन्द्र, प्रदेश र शाखाहरुले तदारुकता देखाउने हो भने शुद्धीकरण सम्भव रहेको बताउनुभयो । उहाँले आफ्ना सदस्यहरुको सूची सार्वजनिक गरे पत्रकार गैरपत्रकार छुट्टिने जिकिर गर्नुभयो ।
प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारी, प्रेस चौतारीका महासचिव राजेश राई, प्रेस सेन्टरका उपाध्यक्ष लक्ष्मी पुन समाजवादी प्रेस संगठनका संस्थापक विश्वमणि सुवेदी र प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्यालले पत्रकारलाई आस्थाका आधारमा मात्रै सदस्यताबाट बञ्चित गर्न नहुने बताउँदै पेसागत धर्म निर्वाह गरे/नगरेको अध्ययन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठान शाखाका अध्यक्षहरुले न्यूनतम पारिश्रमिकको समस्या कम हुँदै गए पनि नियमित पारिश्रमिकको समस्या जटिल बन्दै गएको बताउनुभयो । सरकारी सञ्चार गृहका प्रतिष्ठान शाखा अध्यक्षहरुले भने आफूहरुले सदस्यता वितरणमा कडाइ गरिएको बताउनुभयो ।
वि.सं.२०७८ असोज २२ १४:५९



















