शंखरापुरमा जीपलाइन सञ्चालन हुने
काठमाडौं । साहसिक खेलको रुपमा परिचित जिपलाईन खेल अब चाडै शंखरापुर नगरपालिकामा संचालनमा आउने भएको छ। करिव २ हजार ८ सय मिटर लम्बाई रहने उक्त जिपलाईन शंखरापुर नगरपालिका वडा नं ८ को मणिचुडदेखि शंखरापुरको जहरसिंहपौवा सम्म हुनेछ।
मणिचुड–जहरसिंहपौवा जिपलाईन नामक कम्पनी पर्यटन बिभागमा दर्ता भएको उक्त परियोजनाका संचालक नवीन हुमागाई जानकारी दिएका छन । करिव ८ करोड रुपैयाँको लगानीमा संचालन हुन लागेको उक्त परियोजना आगामी ६ महिना भित्र संचालनमा आउने भएको छ।
असोज २१ गते बिहिबार एक कार्यक्रमका बिच शंखरापुर नगरपालिका प्रमुख सुबर्ण श्रेष्ठले उक्त जिपलाईनको शिलान्यास गरेका थिए ।
उक्त कार्यक्रममा शंखरापुर नगरपालिकाकि उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, वडा नं ३ का वडा सदस्य कर्म बल तथा मणिचुड जहरसिंहपौवा जिपलाइन प्रा.लि.का संचालक नवीन हुमागाई लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै शंखरापुर नगरपालिका प्रमुख सुबर्ण श्रेष्ठले पर्यटन बिकासको प्रचुर सम्भावना बोकेको शंखरापुर नगरपालिकामा जीपलाईन संचालनमा आएपछि शंखरापुर पर्यटन प्रर्वद्धनमा उल्लेख्य फडको मार्ने बिश्वास ब्यक्त गरेका थिए । यस क्षेत्रमा सडक पूर्वाधार पनि धमाधम बन्ने क्रममा रहेको बताउँदै पर्यटन र कृषिको विकासले मात्र समृद्ध शंखरापुरको सपना पूरा हुने बताएका थिए ।
वि.सं.२०७८ असोज ३१ ०९:३०