back
prabhu insurance
himalayanlife

यौन दुराचारीलाई निगमको कार्यकारी अध्यक्ष

काठमाडौं । नेपाल वायुसेवा निगमको अध्यक्षमा यौन दुराचारमा संलग्न युवराज अधिकारीलाई सरकारले नियुक्त गरेको छ । आफू मातहतका कर्मचारीमाथि यौन दुराचारमा संलग्न रहेका अधिकारीलाई सोमबारको मन्त्रिपरिषद बैठकले निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको छ।

स्रोतका अनुसार नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनालको दबाबमा अधिकारीलाई नियुक्त गरिएको हो। अधिकारी नेता खनालका गृह जिल्ला इलामका हुन । उनि कहिले राप्रपा कहिले एमाले गर्दै पार्टि चाहार्दै आएका थिए ।

नेकपा (एस) सरकारमा सहभागी भएपछि पहिले नियुक्ति नै यौन दुराचारीलाई गरेको छ ।
निगमका तत्कालीन अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको ठाउँमा अधिकारीलाई नियुक्त गरिएको हो।

घिमिरेलाई सुरुमा कार्यकारी अध्यक्ष बनाइएको भए पनि पछि कार्यकारी जिम्मेवारी डिमप्रकाश पौडेललाई दिइएको छ। अधिकारीले निगमको अर्थ विभाग प्रमुख हुँदा महिला कर्मचारीमाथि यौन हिंसा गरेका थिए। मातहतका कर्मचारीले उनी विरुद्ध राष्ट्रिय महिला आयोगमा समेत निवेदन दिएका थिए।

यौन हिसांकै विषयमा कर्मचारीले निगमका तत्कालीन महाप्रबन्ध सुगतरत्न कंसाकार समक्ष समेत निवदेन दिएका थिए। हिंसा गरेको पुष्टि भएसँगै अधिकारीले माफी माग्दै अब उपरान्त यस्तो काम नगर्ने भन्दै मेलमिलाप गरेका थिए।

मेलमिलाप पत्रमा भनिएको छ, ‘ क्षमा मागी आगामी दिनमा सोही किसिमको गल्ती नदोहोर्‍याउने तथा दुबै पक्षले काँही कतै उजुरी नगर्ने गरी महाप्रबन्धको कार्यकक्षमा बसी होसहवासमा मेलमिलाप गरियो।’

अधिकारीले महिला कर्मचारीलाई आफ्नो कार्यकक्षमा बोलाइ ‘कति राम्री देखिएकी भन्दै संवेदनशिल अंगमा हेर्ने/छुने, यौन हिंसाजन्य कुरा गर्ने, सरुवा बढुवामा राम्रो ठाउँ मिलाइदिन्छु, विदेश घुम्न जाउँ, मसँग मोज गर्नुपर्छ भन्दै मानसिक यातना दिने र आत्मसम्मानमा गम्भीर चोट पुर्‍याउने काम गरको’ भन्दै कर्मचारीले महिला आयोगमा उजुरी दिएका थिए।
उजुरी दिने विषय थाहा पाएपछि कर्मचारीलाई कार्यकक्षमा बोलाइ धम्काएको समेत उजुरीमा उल्लेख थियो ।