नागरिक उड्डयन प्राधिकरण महानिर्देशक बन्न चापागाईं र तिवारीको दौडधुप
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठक गत पुस ११ गते र १४ गते बसेको थियो । गत असोज २४ गते नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आले संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएपछि प्राधिकरणको यो पहिलो बैठक भएको हो ।
त्यसयता प्राधिकरणको नेतृत्वले बोर्ड बैठक राख्न खोजेपनि मन्त्रीले समय नदिएको कारण बैठक बस्न सकेको थिएन ।
एकै हप्तामा गत पुस ११ गते आइतवार र १४ गते बुधवार दुई पटक मन्त्री आलेको अध्यक्षतामा बसेको प्राधिकरण बोर्ड बैठकले चालु आर्थिक वर्षको बजेट पारित गर्नुका साथै ११ औं तहका चार जना कर्मचारीको १२ औं तहमा बढुवासमेत गरेको थियो ।
प्राधिकरणमा विभागीय मन्त्री स्वम्अध्यक्ष रहने व्यवस्था भएको कारण मन्त्रीको उपस्थिति बिना तीन महिनासम्म बोर्ड बैठक बस्न सकेको थिएन ।
मन्त्री आलेको उपस्थिति बिना बोर्ड बस्न नसक्दा कर्मचारीको बढुवा र चालू आर्थिक वर्षको बजेटसमेत पारित हुन सकेको थिएन् । जसका कारण प्राधिकरणका भित्र भइरहेका बिकास निर्माण र अन्य आर्थिक गतिबिधि ठप्प भएर प्रभावित हुन पुगेका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत जेठ १५ गते बजेट भाषणमार्फत साउनदेखि लागू हुने गरी बढाएको कर्मचारीको तलब भत्तासमेत बजेट पारित नहुँदा प्राधिकरणका कर्मचारीले प्राप्त गर्न सकिरहेका थिएनन् ।
यद्यपि प्राधिकरण नेतृत्वले बैठकका लागि मन्त्री आलेलाई बारम्वार ताकेता गरे पनि उनी सुनेको नसुनै गरी टार्दै आएका थिए ।
प्राधिकरण व्यवस्थापन बोर्डले पूर्णता पाउँदै
हाल प्राधिकरणमा ६ सदस्यीय आन्तरिक व्यवस्थापन बोर्ड रहेको छ । जसमा महानिर्देशक राजकुमार क्षेत्री अध्यक्ष रहेका छन् । अन्य सदस्यहरुमा भोला गुरागाईं, प्रतापबाबु तिवारी रहेका छन्। बाँकी ४ जना सदस्यको पद रिक्त रहेको बताईको छ ।
व्यवस्थापन बोर्ड रिक्त हुनुको मूल कारण प्राधिकरणको बोर्ड बैठक बस्न नसक्नु हो । बैठक बस्न नसक्दा कर्मचारीको बढुवा हुन सकेको थिएन ।
१२ औं तहका गुरागाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको महाप्रवन्धक छन भने तिवारी नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख रहेका छन् ।
चार जना उपमहानिर्देशकको दरवन्दी रिक्त रहेको कारण एभिएशन सर्भिसेज, एभिएसन सेफ्टी तथा सेक्युरिटी रेगुलेशन निर्देशनालय र कर्पोरेट, निर्देशनालय प्रमुखविहीन रहेका छन । पुस ११ गतेको बोर्डको बैठकले ४ जनालाई १२ औं तहमा बढुवा गर्ने र चालू आर्थिक वर्षको बजेट बोर्ड बैठकबाट पारित गर्ने एजेण्डा तय भएको थियो ।
तर, सो दिन मन्त्री आलेको अध्यक्षतामा बसेको बैठक वार्षिक बजेट पारित गर्नमा नै सीमित हुन पुगेको थियो ।
वि.सं.२०७८ पुस २० १६:३८




















