back
stc
prabhu insurance

पूँजीबजार सुधार्न गर्न आजबाट अनसन

काठमाडौ । पुँजीबजार सुधार र विस्तारका लागि सक्रिय लगानीकर्ता एवं पुँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले आज असार १ गतेबाट १९ वटा माग राख्दै ती माग पूरा गराउन आमरण अनशन सुरु गर्दैछन्। ती माग मध्ये १५ वटा माग तत्काल पूरा गर्न सकिने खालका छन।

कोइरालाले आज बिहान ११ बजेबाट नेपाल धितोपत्र बोर्डको कार्यालय (खुमलटार) अगाडि आमरण अनशन बस्ने बताएका छन्। यो कोइरालाको तेस्रो आमरण अनशन हो।

कोइरालाले यो आमरण अनशन नेपालका सबै लगानीकर्ताका संघ(संस्था र सरोकारवालाहरुको साझा आन्दोलन रहेको बताएका छन्। उनले भनेका छन–‘सबै लगानीकर्ता संघ–संस्थाहरुले स्वामित्वबोध गरी मलाई आमरण अनशन मार्फत माग पूरा गर्ने कार्यमा हरतरहले साथ र सहयोग गर्ने दृढ अठोट गरेका छन।

उनीहरुको यही निर्णयका आधारमा म ५२ लाख आमलगानीकर्ताका तर्फबाट आमरण अनशन बसेर पुँजीबजार सुधार र विस्तारका लागि फेरि–फेरि पनि आन्दोलन गर्नुपर्ने र अनशन बस्नु नपर्ने गरी अन्तिम लडाइँ लड्दैछु।

यो लडाइँ सेयरको मूल्य घट्यो वा बढ्यो भनेर घटाइबढाइ पाउन सुरु गरिएको कुनै हालतमा पनि हैन र सेयरको मूल्य घटबढसँग जोड्नु कुनै अर्थमा पनि स्वीकार्य र न्यायोचित हुने छैन।’

पुँजीबजारको विकासका लागि गर्नैपर्ने न्यूनतम कामहरु जो सरकारले साढे ३ वर्षअघि नै गरिसक्छु भनेको थियो, त्यही गराउनु नै यो अनशनको मुख्य उद्देश्य हो।

कोइरालाले भनेकाका छन्– ‘हामीले अघि सारेका मागहरु हाम्रा माग नभई सरकारी निकायहरुले गर्छु भनी समय र जिम्मेवार निकायहरुसमेत तोकिएका कामहरु हुन्।

१९ बुँदे मागहरुमध्ये १५ वटा बुँदाहरु एकैदिनमा गर्न सकिने खालका छन् ।’ यो आन्दोलन लगानीकर्तामात्रै नभई सरकार, धितोपत्र बोर्ड, नेप्से, मर्चेन्ट बैंकर, ब्रोकर लगायत पुँजीबजारका सबै सरोकारवालाहरुको साझा आन्दोलन भएकाले सबैबाट साथ, सहयोग र समर्थनको अपेक्षा रहेको कोइरालाले बताएका छन्। लगानीकर्ताहरु गत जेठ २० गतेबाट आन्दोलनरत रहदै आएका छन्।