back
prabhu insurance
himalayanlife

नेपाली लेखक संघद्वारा एकलाख राशिको विशिष्ट लेखक पुरस्कार घोषणा

काठमाडौं । नेपाली लेखक संघले एकलाख राशिको विशिष्ट लेखक पुरस्कार घोषणा गरेको छ।संघको काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याउने एकजना स्रष्टालाई एकलाख राशि सहितको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली लेखक संघका अध्यक्ष तथा वरिष्ठ कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा बसेको संघको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठकले २०८० साल बैशाख १६ गतेदेखि ’लेखक दिवस’ मनाउन सुरु गर्ने निर्णय गरेको छ।

उक्त दिन नेपाली लेखक संघका सबै प्रदेश कमिटी र जिल्ला शाखाहरूले ‘लेखक दिवस’ विशेष कार्यक्रमको आयोजना गरी मनाउनुपर्ने निर्देशन दिने जनाएको छ भने केन्द्रीय समितिले पनि भव्यताका साथ लेखक दिवस मनाउने तयारीमा जुटेको छ ।

बि.सं. १९८७ सालमा निरंकुश राणा शासनको विरुद्ध संगठीत हुन् सुरु गरिएको पुस्तकालय अभियानमा राज्यका तर्फबाट भएको ज्यादतीलाई ‘पुस्तकालय पर्व’का नामले परिचित छ ।

नेपालमा राजनीतिक दलहरू खोल्नुपूर्व नै सचेत जनस्तरबाट संगठित भएर निरंकुश शासक विरुद्ध यो नै सिर्जनात्मक चेतको पहिलो बिद्रोह थियो।

यस अभियानको क्रममा बि।सं। १९८७ बैशाख १६–१७ गते राज्य द्रोह गरेको नाममा पुस्तकालय अभियानमा संलग्न ४५ जना स्रष्टाहरूलाई राज्यका तर्फबाट विभिन्न मुद्दा लगाइ, दण्ड जरिवाना र जेल चलान गरेको थियोे। स्रष्टाहरूले राजनीति परिवर्तनका लागि चालेको संगठनात्मक चेतको उच्च स्मरण गर्दै उक्त ऐतिहासिक दिनलाई नेपाली लेखक सङ्घले ’लेखक दिवस’ मनाउने निर्णय गरेको हो।

उक्त दिवसकै अबसर पारेर प्रदान गरिने विशिष्ट लेखक पुरस्कारको अक्षय–कोष स्थापना गर्न सङ्घले आफ्नोतर्फबाट रकम संकलन गर्न सुरु गरेको हो। सो पुरस्कार प्रदान गर्न अक्षय–कोषका लागि कार्यसमितिको तर्फबाट मात्रै छ लाख बराबरको रकम संकलन भएको छ ।

सुरुवातमै निकै उत्साहपूर्वक स्वत–स्फुर्त रकम संकलन भएको यो अक्षय–कोषमा आगामी दिनमा पनि विभिन्न संघरसंस्था र व्यक्तिहरूबाट रकम संकलन गरि कोषमा कम्तीमा २० लाख बराबरको मूलधन पुर्याउने संकल्प रहेको नेपाली लेखक सङ्घका अध्यक्ष तथा वरिष्ठ कवि तीर्थ श्रेष्ठले उद्घघोष गरेका छन्।

उनका अनुसार यो पुरस्कार वितरण गर्न नेपाली लेखक सङ्घले एक कार्यविधि निर्माण गरि स्रष्टाहरूबाट स्रष्टाहरूको लागि प्रदान गरिएको रकमलाई व्यवस्थित गरिने समेत जनाएका छन्।