डुम्रे–बेँसीशहर सडक अवरुद्ध
काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले डुम्रे–बेँसीसहर सडक र बेँसीशहर(चामे सडक अवरुद्ध भएको छ ।
डुम्रे–बेँसीशहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुर नजिकै पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिराले अवरुद्ध बनाएको सडकका कारण वैकल्पिक रूपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा सोही पहिराले ढुङ्गा माटासहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प छ ।
सडक अवरुद्ध भएपछि बेँसीशहरबाट काठमाडौँ, पोखरा, चितवनलगायत ठाउँमा जान र सो स्थानबाट बेँसीशहर आउने सवारी साधन चल्न सकेका छैनन् ।
त्यस्तै, लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकखण्ड स्थित बेँसीशहर नगरपालिका–६ खरखरे भिरमा समेत बाढी पहिराले सडक अवरुद्ध भएको छ ।
करिब ३० मिटर सडक नै अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीको भनाइ छ । यस स्थानमा बर्सेनि पटक–पटक पहिराका कारण थप जोखिम बढ्दै गएको छ । यी दुवै स्थानमा पहिरो खुलाउने तयारी भएको छ ।
वि.सं.२०७९ असार १४ १०:२२




















