back
stc
prabhu insurance

गत २०७७ सालको माध्यमिक शिक्षा (एसईई) को प्रश्नपत्र प्रतिकेजी १७.५० रुपियाँमा बिक्री

काठमाडौँ । गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का प्रश्नपत्र प्रतिकेजी साढे १७ रुपियाँका दरले बिक्री गरिएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले  बिक्री गरेको छ । बढाबढ टेन्डर प्रक्रिया गर्दा विराटनगरको अरविन्द पल्प एन्ड पेपर मिल्सले ती प्रश्नपत्र खरिदको जिम्मा पाएको छ ।

पुराना प्रश्नपत्र अभ्यासका लागि विद्यार्थीलाई उपलब्ध गराइनुपर्ने चाहना शिक्षकहरूले गर्दै आएका थिए । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले पुराना प्रश्नपत्र विद्यार्थीलाई वितरण गर्न त्यति सहज नहुने भएकाले बिक्री गरिएको बताउनुभयो । ती प्रश्नपत्र करिब २० करोड रुपियाँ खर्च गरेर जनक शिक्षा सामग्री केन्द्रमा छपाइएको थियो ।

उहाँका अनुसार करिब तीन ट्रक प्रश्नपत्र छन् । सो कागज कारखानाले धरौटी रकम बुझाएको छ भने तौल लिइसकेपछि मात्र सकारेबमोजिम प्रतिकेजीका दरले रकम राजस्व दाखिला गर्नेछ ।“कागज कारखानाले प्रश्नपत्र लिएर जाँदा पनिकाका एक जना अधिकृत पनि सँगै जाने छन्” उहाँले भन्नुभयो, “कारखानामा पुगेपछि ती प्रश्नपत्रलाई पानीमा हालेर अक्षर मेटाउनुपर्ने सर्त तोकिएको छ । सबै प्रश्नपत्रका अक्षर मेटाइएपछि मात्र पनिकाका अधिकृत काठमाडौँ फर्किनेछन् ।”

कोभिड–१९ का कारण २०७६ सालमा पनि एसईई सञ्चालन हुनसकेन । परीक्षा सुरु हुनु एक दिनअघि परीक्षा स्थगित गर्ने निर्णय गरिएको थियो । त्यो वर्ष प्रश्नपत्र सम्बन्धित प्रहरी चौकीमा पुगिसकेको थियो । त्यो वर्ष परीक्षा सञ्चालन नभएपछि प्रश्नपत्र जलाउने निर्णय भएपछि प्रहरीका रोहबरमा तिनलाई जलाइएको थियो ।

२०७७ सालको एसईईको प्रश्नपत्र जिल्ला पठाइएको थिएन । तिनलाई पनिकाको गोप्य कोठामा राखिएको थियो । बिक्री गर्ने भएपछि तिनलाई अहिले पनिकाको बरन्डामा राखिएको छ ।