back
stc
prabhu insurance

नेपाल हस्तकला महासंघका पदाधिकारी र नर्वेका राजदूतबीच भेट

नेपाल हस्तकला महासंघका पदाधिकारी र नेपालका लागि नर्वेका राजदूतबीच भेटवार्ता भएको छ । हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य र उपाध्यक्ष दिल्ली रत्न तुलाधरले नेपालस्थित नर्वे दुताबासमा नर्वेका राजदूत टोरुन् ड्रमडलसँग बुधबार भेंट गरेका हुन् ।

भेट क्रममा नेपालका हस्तकलाका सामानहरु नर्वे निकासीका विषयमा कुराकानी भएको  छ । हाल नेपालका सामानहरु नर्वे निकासी भएको अवस्था खासै नरहेकाले कसरी निकासी बढाउँन सकिन्छ भन्ने बारेमा कुराकानी भएको थियो ।

नेपाल हस्तकला महासंघले यो वर्ष स्वर्णवर्ष मनाइ रहेको र स्वर्णवर्षको अवसर पारेर दुई देशबीच हस्तकला क्षेत्रलाई टेवा पुग्नेगरी काम गरौं भन्ने प्रस्ताव महासंघका अध्यक्ष शाक्यले सो अवसरमा राखेका थिए ।

महासंघका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले दुई देशबीचको व्यापारमा कम विकसित राष्ट्रलाई नर्वेले दिँदै आएको सहुलियतको प्रशंसा गरे । हस्तकलाको निर्यात बढाउन हाल REX  सुबिधाले नर्वे निकासीका लागि सहयोग पुगेको तर, निकासी नगण्यमात्रामा भएको बताउँदै उपाध्यक्ष तुलाधरले अन्य थप पहलकदमीका लागि राजदूतसँग आग्रह गरेका थिए ।

नर्वेमा हुने मेलामा नेपालको हस्तकला व्यापार वृद्धिका लागि नेपाललाई पनि सहभागि गराउँन उनले राजदूतलाई आग्रह गरे । नेपालमा हस्तकलाका दक्ष कलाकारहरु रहेको जनाउँदै उनले निकासीमा नर्वेले सहयोग गर्दा कलाकारहरुको स्वरोजगारमा मद्धत पुग्ने धारणा राखे । गत बर्ष महासंघले आयोजना गरेको १८ औ हस्तकला मेलामा राजदूतको उपस्थितिप्रति आभार व्यक्त गर्दै उपाध्यक्ष तुलाधरले अन्य मेलामा पनि महासंघले राजदूतको उपस्थितीको अपेक्षा गरेको बताए ।